धरान । मुख्यमन्त्री कप १ नम्बर प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिताको दोस्रो चरणमा शुक्रबार नै भएको दोस्रो खेलमा झापाको सैनिक युथ क्लबले गोलवर्षा गरेको छ ।
बाक्सिला युथ क्लब खोटाङलाई ६-३ गोलअन्तरमा पराजित गर्दै झापाले महत्वपूर्ण तीन अंक बटुलेको छ । खेलमा ३-१ गोलले पछि परेको अवस्थालाई उल्टाउँदै झापाले नतिजा आफ्नो पक्षमा पारेको हो । जसमा कप्तान विकेश लिम्बू झापाका लागि नायक बने ।
खेलको सुरुवातमै खोटाङका श्रीकृष्ण श्रेष्ठले २ मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । एकोहोरो दबाब सिर्जना गरिरहेको खोटाङकै सुदिप केसीले खेलको ३२औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाए । २-० गोलले पछि परेको अवस्थामा झापाका मिलन राईले खेलको ४३औँ मिनेटमा गोल गरेर गोलअन्तर कम गरेका थिए ।

खेलको ५३औँ मिनेटमा खोटाङका कृष्ण बजिमयले गोल गर्दै खेललाई ३-१ को स्थितिमा पुराए । तर, दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै झापाका लागि विकेश लिम्बू खेलमा नायक बने । उनी खेलको म्यान अफ दी म्याच घोषितहुँदै पुरस्कारस्वरुप नगद ५ हजार पाउन सफल भए ।
उनले दोस्रो हाफको अन्तिम ३२ मिनेटमा ह्याट्रिकसँगै व्यक्तिगत ४ गोल गरे । खेलको ६२औँ मिनेटमा गोल गर्न सुरु गरेका विकेशले खेलको ८४औँ मिनेटमा ह्याट्रिक पूरा गरिसकेका थिए । यसअघि उनले ६६औँ मिनेटमा गोल गरेका थिए । उनको अन्तिम गोल खेलको ९४औँ मिनेटमा भएको थियो ।
विकेशको गोलवर्षासँगै खेलमा कम ब्याक गराउन सौरभ लिम्बूले खेलको ७६औँ मिनेटमा थप गोल गरेर खोटाङसँगको प्रतिस्पर्धामा ६-३ गोलको अन्तर निकाल्न सफल भए ।