झापा । ओपनर विरनदीप सिंहले अर्धशतक प्रहार गरेसँगै घरेलु टोली मलेसियाले पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपाललाई १२९ रनको लक्ष्य दिएको छ ।

किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २८ रन बनायो । उसका लागि ओपनर विरनदीपले सर्वाधिक ५७ रनको महत्वपूर्ण योगदान दिए ।

वसन्त रेग्मीको १५ ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा बाउन्ड्रीलाइन नजिकै प्रदीप ऐरीले क्याच गर्नु अघि ४९ बलमा ७ चौका १ छक्का प्रहार गरे । त्यस्तै कप्तान अहमद फैजले ४५ रनको योगदान दिए । अन्तिम ओभरको दोस्रो बलमा ललित नारायण राजवंशीबाट क्याच आउट हुनुअघि ३९ बलमा २ छक्का प्रहार गरे ।

सोमपाल कामीले पहिलो ओभरको पाँचौ बलमा ओपनर सैद अजिजलाई शुन्यमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । सन्दीपले लामिछानेले सातौं ओभरको पहिलो बलमा फ्रिती सामलाई १२ रनमा करण केसीबाट क्याच आउट गराए । चौथो विकेटका लागि बसन्त रेग्मिले १७ ओभरको चौथो बलमा सफिक सरिफलाई २ रनमा आफैं क्याच आउट गरे ।

मोहम्मद सियाहदत ८ रनमा बोल्ड आउट भए । राम्रो सुरुवात गरेको मलेसिया अन्तिम ५ ओभरमा ३२ रन जोड्न ६ विकेट गुमाएपछि विशाल योगफल बनाउन चुकेको हो । नेपालका लागि करण केसीले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।

वसन्तले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए ।