धरान । सुनसरीको धरानमा जारी मुख्यमन्त्री कप १ नम्बर प्रदेश लिग फुटबल प्रतियोगिताको सुपर सिक्सको शनिबार भएको दोस्रो खेलमा इलामको रेडहर्ष फुटबल क्लबले जीत निकालेको छ ।

बाक्सिला फुटबल क्लब खोटाङविरुद्ध इलामले २-० गोलको नतिजाबाट पाखा लगाउँदै स्पष्ट तीन अंक पनि जोडेको छ । इलामका लागि कप्तान पासाङ शेर्पाले खेलको १३औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

प्रतिस्पर्धात्मक खेलमा इलामका विवेक राईले इन्जुरी समयमा अर्को गोल गर्दै जीतका लागि २-० गोलको नतिजा निकाले । खेलको म्यान अफ दी म्याच बाक्सिला एफसीका सुदिप केसी घोषित भए । उनले पुरस्कारस्वरुप नगद ५ हजार पाए ।