झापा । विकेटकीपर विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले मलेसियालाई दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा १ सय ७४ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।
आइतबार किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको १ सय ७३ क्षतिमा रन बनायो । टी ट्वान्टी आईमा नेपालले बनाएको यो हाल सम्मकै उच्च स्कोर हो । यस अघि सन् २०१४ को टी ट्वान्टी विश्वकप क्रिकेटमा हङकङविरुद्द बनाएको १ सय ४९ रननै नेपालको टी ट्वान्टी आईमा उच्च स्कोर रहँदै आएको थियो । नेपाललाई कीर्तिमानी योगफलसम्म पुर्याउन विनोद भण्डारीले २५ बलमा ३ चौका र ५ छक्का सहित ५१ रनमा अविजित रहे । उनले इनिङको अन्तिम बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।
अनुभवी ब्याट्सम्यान शरद भेषवाकरले ४० रनको महत्वपूर्ण योगदान दिए । १६ औं ओभरको पहिलो बलमा छक्का,दोस्रोमा चौका र तेस्रो बलमा ठूलो सर्ट खेल्ने धुनमा शरद अमिनुदीन रामिल्यबाट क्याच आउट हुनुअघि शरद भेषवाकरले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
नेपालले पहिलो विकेटका रुपमा ओपनर पवन सरार्फलाई १० रनमा गुमाएको थियो । सैद अजिज को पाँचौ ओभरको पाँचौ बलमा फिल्डिरले क्याच छाडेपनि पारससँग रनमा तालमेल गर्न नसक्दा पवन रन आउट हुन पुगे । फ्रिती सामको छैटौं ओभरको दोस्रो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल खराब सर्ट खेल्दै ७ रनमा क्याच आउट हुन पुगे । लगत्तै अर्को बलमा कप्तान पारस खड्का पनि ठूलो सर्ट खेल्ने धुनमा विरनदीप सिंहबाट २३ रनमा क्याच आउट भएका छन् । पारसले १९ बलमा समान समान २ चौका र छक्का प्रहार गरे ।
चौथो विकेटका लागि रोहित कुमार पौडेल र ब्याट्सम्यान शरद भेषवाकरले ४६ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । सैद अजिजको १३ औं ओभरको पाँचौ बलमा रोहित सामबाट १९ रनमा क्याच आउट भए । रोहितले २३ बलमा १ चौका प्रहार गरे । त्यस्तै करण केसीले ब्याटिङ गर्दै १० बलमा समान १ चौका र छक्का सहित १६ रनमा क्याच आउट भए ।
मलेसियाका लागि फ्रिती सामले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । सैद अजिज र सर्विन मुनियनले समान एक विकेट लिए ।