धरान । सुनसरीको धरानमा जारी मुख्यमन्त्री कप १ नम्बर प्रदेश लिग फुटबल प्रतियोगिताको सुपर सिक्स समूह क अन्तर्गतको अन्तिम खेलमा धरान एफसी सुनसरी र बेलबारी एफसी मोरङले आज खेल्नेछन् ।
त्यस्तै, समूह ख अन्तर्गत आज नै सैनिक युथ क्लब झापाले रेडहर्ष एफसी इलामसँग दोस्रो खेल खेल्नेछ । सुपर सिक्समा परेका बाक्सिला एफसी खोटाङ र बौद्धिक विकास समिति धनकुटा समूह चरणबाट बाहिरिसकेका छन् ।

आजको खेलबाट लिग चरणको समूह विजेता फाइनलमा प्रवेश गर्नेछन् । दुवै समूहमा रहेका टिमहरुको समान ३३ अंक रहेको छ । अंक तालिकामा समान रहे पनि गोल संख्या भने तल माथि रहेको छ । जसका कारण रेडहर्ष एफसी इलाम र धरान एफसीलाई आजको खेल जित्नै पर्ने दबाब छ ।

समान अंक भए पनि फाइनल प्रवेशका लागि सैनिक युथ क्लब गोल संख्याका आधारमा अगाडि छ । झापाले इलामसँग बराबरी खेले पनि समूह विजेता बन्दै फाइनल खेलका लागि छनौट हुनेछ । यसअघिको लिग चरणमा इलामलाई उसकै घरेलु मैदानमा हराएर अपराजित झापाले महत्वपूर्ण तीन अंक बटुलेको थियो ।

यता धरानले बेलबारी एफसीलाई जित्नै पर्ने दबाब सिर्जना भएको छ । बेलबारी पनि गोल संख्याका आधारमा अगाडि रहेकाले धरानलाई जीतको खाँचो छ । समान अंक भएको बेलबारीले बराबरी खेल्न सके पनि समूह विजेता बन्दै फाइनलमा प्रवेश गर्नेछ । फाइनल विजेताले नगद ५ लाखसहित चार किलो चाँदीबाट निर्मित आकर्षक ट्रफी पाउनेछ ।
