धरान । मोरङको बेलबारी फुटबल क्लब मुख्यमन्त्री कप १ नम्बर प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज धरानमा सम्पन्न पहिलो खेलमा सुनसरीको धरान फुटबल क्लबलाई २-१ गोलअन्तरमा पारजित गर्दै मोरङले फाइनल यात्रा तय गरेको हो । लिग चरणमा अपराजित यात्रालाई कायम राख्दै समान ३-३ अंक रहे पनि गोल संख्याको आधारमा मोरङ अगाडि थियो । उसले बराबरी खेले पनि फाइनल यात्रा सुरक्षित थियो । तर, धरानलाई जित्नै पर्ने दबाब थियो । यो हारसँगै धरान पनि उपाधि होडबाट बाहिरिएको छ ।

निर्धारित खेलमा मोरङका मौसम सुब्बाले खेलको ४४औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलमा हिसुव थपलियाले धरानका लागि ४८औँ मिनेटा गोल गरेर बराबरीमा पुराएका थिए । तर, खेलको ९१औँ मिनेटमा मोरङका एनस मगरले गोल गरेर फाइनल यात्रा सुनिश्चित गरेका हुन् ।

खेलको म्यान अफ दी म्याच बनेका मोरङ सौरभ कार्कीलाई पुरस्कार स्वरुप नगद ५ हजार प्राप्त गरे । उनलाई एन्फाका प्रवक्ता तथा मुख्यमन्त्री कप आयोजक कमिटीका अध्यक्ष किरण राईले नगद हस्तान्तरण गरे ।

आजै झापाको सैनिक युथ क्लबले इलामको रेडहर्ष फुटबल क्लबसँग अन्तिम प्रतिस्र्धा गर्दैछ । फाइनल प्रवेशका लागि झापाले बराबरी खेले पनि पुग्छ । तर, इलामले झापालाई जित्नै पर्ने दबाब छ । गोल गरेको संख्याका आधारमा झापा अगाडि छ ।

प्रतियोगिताको विजेताले नगद ५ लाखसहित चार किलो चाँदीबाट निर्मित आकर्षक ट्रफी पाउनेछ ।