धरान । यहाँ जारी मुख्यमन्त्री कप १ नम्बर प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिताको फाइनलमा झापाको सैनिक युथ क्लब प्रवेश गरेको छ । आज धरानमा सम्पन्न दोस्रो खेलमा इलामको रेडहर्ष फुटबल क्लबलाई ३-१ गोलअन्तरमा पराजित गर्दै झापाले फाइनलमा स्थान सुरक्षित गरेको हो । झापाले लिग चरणका खेलसहित पाँचौ खेलमा पनि जीत दर्ता गरेको हो । यसअघि इलामलाई उसैको घरेलु मैदानमा पनि पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुलेको थियो । फाइनल प्रवेशका लागि भएको खेलमा झापाका लागि मिलन राई, अभिषेक गुरुङ र रेजिन माझीले गोल गरे भने इलामका लागि दर्शन गुरुङले सान्त्वना गोल फर्काएका थिए । झापा र इलाम समान ३-३ अंकका साथ फाइनल भिडन्तमा थियो । इलामले झापालाई जित्नै पर्ने दबाबमा खेलेको थियो भने झापाले इलामसँग बराबरी खेले पनि फाइनल यात्रा तय हुन्थ्यो । इलामविरुद्ध झापाको गोल संख्या उच्च थियो ।
निर्धारित खेलमा झापाका लागि मिलन राईले खेलको १८औँ मिनेटमा गोलको खाता खोलेका थिए । त्यस्तै, अभिषेक गुरुङले खेलको ३०औँ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

यसैबीच, इलामका दर्शन गुरुङले खेलको ४८औँ मिनेटमा गोल गरे अन्तर कम गरेका थिए । तर, २-१ परिणामको स्थितिमा झापाका रेजिन माझीले खेलको ८२औँ मिनेटमा गोल गरेर फाइनल यात्राका लागि सुनिश्चित गरे ।
यो जीतसँगै झापाले मोरङको बेलबारी फुटबल क्लबसँग फाइनल भेट पक्का गरेको छ । आजको खेलको म्यान अफ दी म्याच झापाका अभिषेक गुरुङ घोषित भए । उनले पुरस्कारस्वरुप नगद ५ हजार पाए ।
धरानलाई हराउँदै बेलबारी फाइनलमा

आजै भएको पहिलो खेलमा धरान एफसी सुनसरीलाई २-१ गोलले हराउँदै बेलबारी एफसी मोरङ फाइनलमा प्रवेश गरिसकेको छ । मंगलबार हुने फाइनलमा झापा र मोरङको उपाधिका लागि भिडन्त हुनेछ ।
लिग चरणमा अपराजित यात्रालाई कायम राख्दै समान ३-३ अंक रहे पनि गोल संख्याको आधारमा मोरङ अगाडि थियो । उसले बराबरी खेले पनि फाइनल यात्रा सुरक्षित थियो । तर, धरानलाई जित्नै पर्ने दबाब थियो । यो हारसँगै धरान पनि उपाधि होडबाट बाहिरिएको छ ।
खेलमा मोरङका मौसम सुब्बाले खेलको ४४औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलमा हिसुव थपलियाले धरानका लागि ४८औँ मिनेटा गोल गरेर बराबरीमा पुराएका थिए । तर, खेलको ९१औँ मिनेटमा मोरङका एनस मगरले गोल गरेर फाइनल यात्रा सुनिश्चित गरेका थिए ।
खेलको म्यान अफ दी म्याच बनेका मोरङ सौरभ कार्कीलाई पुरस्कार स्वरुप नगद ५ हजार प्राप्त गरे । फाइनल खेलको विजेताले नगद ५ लाखसहित ४ किलो चाँदीबाट निर्मित आकर्षक ट्रफी पाउनेछ ।