एजेन्सी । न्युजिल्यान्डले एक दिवसिय विश्वकप २०१९ को फाइनल खेलमा घरेलु टोली इंग्ल्यान्डलाई २ सय ४२ रनको मध्यम लक्ष्य दिएको छ । लर्डसमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४१ रन बनायो । न्युजिल्यान्डका लागि ओपनर हनेरी निकोलसले सर्वाधिक ५५ रन जोडे । २७ ओभरको पाँचौ बलमा लियाम प्लान्केटले बोल्ड आउट गर्नुअघि हेनरीले ७७ बलमा ४ चौका प्रहार गरे ।

हेनरीले दोस्रो विकेटका लागि कप्तान केन विलियमसनसँग ७४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । कप्तान विलियमसनलाई २३ ओभरको चौथो बलमा प्यान्केटलेनै विकेटकीपर जस बटलरबाट ५३ बलमा २ चौका सहित ३० रनमा क्याच आउट गराए ।

न्युजिल्यान्डले ओपनर मार्टिन गुप्टिललाई १९ रनमा गुमाएको थियो । सातौ ओभरको दोस्रो बलमा क्रिस वोक्सले एलवी डब्लू आउट गर्नु अघि गुप्टिलले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे । मार्क उडले अनुभवी ब्याट्सम्यान रोश टेलरलाई १५ रनमा एलबी डब्लू आउट गराए । ३९ औं ओभरको अन्तिम बलमा ठूलो सर्ट खेल्ने धुनमा जेम्श निशम जो रुटबाट १९ रनमा क्याच आउट भएपछि न्युजिल्यान्डको विशाल योगफलको संभावना सकिएको थियो ।

तल्लोक्रममा विकेटकीपर टम लेथमले ५६ बलमा २ चौका र १ छक्का सहित ४७ रन जोडेपछि न्युजिल्यान्ड प्रतिस्पर्धात्मक योगफल सम्म पुगेकोे हो । त्यस्तै कोलिन डी ग्राण्डहोमले १६ रनमा क्याच आउट भए । मिचेल सान्टनारले ५ रन जोडे ।

इंग्ल्यान्डका लागि लियाम प्लान्केटले १० ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । क्रिस वोक्सले १० ओभरमा ३७ रन खर्चेर ३ विकेट हात पारे । जोफ्रा आर्चर र मार्क उडको नाममा समान १ विकेट रह्यो ।