धरान । मुख्यमन्त्री कप १ नम्बर प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिताको फाइनल खेल मंगलबार धरानमा हुँदैछ । दुई चरण पार गरेर समूह विजेता बनेको झापाको सैनिक युथ क्लब र मोरङको बेलबारी फुटबल क्लब उपाधि होडमा छन् । सोमबार धरानमा आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै दुवै टिमका कोचले आफ्नो टिम च्याम्पियन बन्ने दाबी गरे । दुवै टिमले एक अर्कालाई कमजोर नठानेको भन्दै फाइनल रिजल्ट ९० मिनेटभित्र आउने उनीहरुको भनाइ थियो ।

मोरङका असिस्टेन्ट कोच सुनिल पोखरेलले झापाली फुटबल टिम स्ट्रङ रहेको बताए । उनले पूर्वमा फुटबलको बेस झापा भएको भन्दै खेल कौशल उत्कृष्ट भएको प्रतिक्रिया दिए । तर, २० वर्षदेखि मोरङले पनि फुटबलमा फड्को मारिरहेको दाबी गरेका उनले आफूसँग पनि भरपर्दा खेलाडीको साथ रहने भएकाले जीत आफ्नो पक्षमा हुने बताए ।

उनले फुटबल प्रतियोगिताबारे आयोजकलाई सुझाव पनि दिए । प्रदेश लिग आयोजना गरिएकोमा धन्यवाद दिएका उनले प्रतियोगिताको समय नमिलेकोमा सुधार गर्न सुझाव दिए । उनले प्रतियोगिता राम्रो गर्न, गराउनका लागि खेल मैदान पनि उत्तिकै राम्रो हुनुपर्ने भन्दै आगामी वर्षमा वर्षायाममा प्रतियोगिता नगर्न उनको सुझाव थियो ।

झापाका कोच प्रवेश कटुवालले फिफ्टी फिफ्टीको पोजिसन भए पनि आफ्ना खेलाडी एक्सपिरिएन्स भएकाले जित्ने दाबी गरे । उनीहरुको खेलाडी पनि राम्रै भएको बताएका उनले खेलमैदान हिलाम्मे भएकाले खेलाडीले खेल्न केही असहज हुने भनाइ थियो ।
कम अनुभव भएका खेलाडी भएकाले यही कमजोरीको फाइदा लिएर च्याम्पियन बन्ने कोच कटुवालको दाउ छ । ‘उनीहरुको यङ खेलाडीविरुद्ध हाम्रो अनुभवी खेलाडीले स्कोर गर्ने आशा छ’, उनले भने ।

च्याम्पियन बन्ने टिमले नगद ५ लाखसहित चार किलो चाँदीबाट निर्मित आकर्षक ट्रफी पाउनेछ । त्यस्तै, म्यान अफ दी टुर्नामेन्ट बन्ने खेलाडीले नगद एक लाख पाउनेछ भने अन्य विधागत पुरस्कारको राशि नगद २५ हजार रहेको छ ।