धरान । मुख्यमन्त्री कप १ नम्बर प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिताको फाइनल खेल आज धरानमा हुँदैछ । फाइनल भिडन्तका लागि झापाको सैनिक युथ क्लब र मोरङको बेलबारी फुटबल क्लब तयार छन् ।
दुवै टोलीले आफ्नो समूहमा अब्बल सावित गरिसकेका छन् । दुई चरणको लिग प्रतियोगितामा आफूलाई अपराजित राख्दै समूह विजेता बनेर अब्बल सावित गरेका हुन् । दुवै टोलीको छिनोफानो भने ९० मिनेटपछि नै थाहा हुनेछ । दुवै टोलीलाई प्रदेशस्तरीय लिगको इतिहास रच्ने अवसर पनि छ ।
हिजो आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै दुवै टिमका कोचले आफ्नो टिम च्याम्पियन बन्ने दाबी गरेका थिए । मोरङका असिस्टेन्ट कोच सुनिल पोखरेलले झापाली फुटबल टिम स्ट्रङ रहेको बताउँदै २० वर्षदेखि मोरङले पनि फुटबलमा फड्को मारिरहेकाले आफूसँग पनि भरपर्दा खेलाडीको साथ रहने भएकाले जीत आफ्नो पक्षमा हुने बताएका थिए ।
झापाका कोच प्रवेश कटुवालले फिफ्टी फिफ्टीको पोजिसन भए पनि आफ्ना खेलाडी एक्सपिरिएन्स भएकाले जित्ने दाबी गरेका छन् । उनीहरुको खेलाडी पनि राम्रै भएको बताएका उनले खेलमैदान हिलाम्मे भएकाले खेलाडीले खेल्न केही असहज हुने भनाइ थियो ।
कम अनुभव भएका खेलाडी भएकाले यही कमजोरीको फाइदा लिएर च्याम्पियन बन्ने कोच कटुवालको दाउ छ ।
समूह ख अन्तर्गत इलामको रेडहर्ष फुटबल क्लबलाई ३-१ गोलअन्तरमा पराजित गर्दै झापाले फाइनलमा स्थान सुरक्षित गरेको थियो । झापाले लिग चरणका खेलसहित पाँचौ खेलमा पनि जीत दर्ता गरेको हो । यसअघि इलामलाई उसैको घरेलु मैदानमा पनि पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुलेको थियो ।
फाइनल प्रवेशका लागि भएको खेलमा झापाका लागि मिलन राई, अभिषेक गुरुङ र रेजिन माझीले गोल गरे भने इलामका लागि दर्शन गुरुङले सान्त्वना गोल फर्काएका थिए ।
झापा र इलाम समान ३-३ अंकका साथ फाइनल भिडन्तमा थियो । इलामले झापालाई जित्नै पर्ने दबाबमा खेलेको थियो भने झापाले इलामसँग बराबरी खेले पनि फाइनल यात्रा तय हुन्थ्यो । इलामविरुद्ध झापाको गोल संख्या उच्च थियो ।
समूह क अन्तर्गत भएको पहिलो खेलमा धरान एफसी सुनसरीलाई २-१ गोलले हराउँदै बेलबारी एफसी मोरङ फाइनलमा प्रवेश गरेको हो ।
लिग चरणमा अपराजित यात्रालाई कायम राख्दै समान ३-३ अंक रहे पनि गोल संख्याको आधारमा मोरङ अगाडि थियो । उसले बराबरी खेले पनि फाइनल यात्रा सुरक्षित थियो । तर, धरानलाई जित्नै पर्ने दबाब थियो ।
खेलमा मोरङका मौसम सुब्बा, एनस मगरले गोल गरेका थिए भने धरानका हिसुव थपलियाले एक गोल गरेका थिए ।
च्याम्पियन बन्ने टिमले नगद ५ लाखसहित चार किलो चाँदीबाट निर्मित आकर्षक ट्रफी पाउनेछ । त्यस्तै, म्यान अफ दी टुर्नामेन्ट बन्ने खेलाडीले नगद एक लाख पाउनेछ भने अन्य विधागत पुरस्कारको राशि नगद २५ हजार रहेको छ ।