धरान । मुख्यमन्त्री कप १ नम्बर प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिताको उपाधि सैनिक युथ क्लब झापाले उचाल्दा उपविजेता बनेको बेलबारी एफसी मोरङका भुषण सुब्बा म्यान अफ दी टुर्नामेन्ट घोषित हुँदै पुरस्कृत भए । उनले नगद १ लाखसहित ट्रफी पाए ।
खेलमा बेलबारी एफसीलाई २ १ गोलअन्तरले पराजित गर्दै सैनिक युथ क्लब झापा च्याम्पियन बनेको हो । सैनिक युथ क्लब झापाका रेजिन माझीले खेल सुरु भएको १ मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १-० गोलमा पछि परेका बेलबारी एफसी मोरङका लागि खेलको ५१औँ मिनेटमा सौरभ कार्कीले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । तर, झापाली कप्तान विकेश लिम्बूले खेलको ८७औँ मिनेटमा गोल गरेर झापालाई १ नम्बर प्रदेश लिग च्याम्पियन बनाउन सफल भए ।

प्रतियोगिता अवधिभरकै उत्कृष्ट गोलकिपर झापाका मनोज प्रधान घोषित भए । बेस्ट डिफेन्समा झापाकै विमानप्रसाद राई घोषित हुँदा धरान फुटबल क्लब सुनसरीका उमेश राई बेस्ट मिडफिल्ड घोषितहुँदै नगद पुरस्कार पाउन सफल भए ।
प्रतियोगिताको बेस्ट फरवार्ड झापाका कप्तान विकेश लिम्बू घोषित भए । बेस्ट कोच पनि झापाकै प्रशिक्षक प्रवेश कटुवाल घोषित भए । उनीहरुले जनही २५/२५ हजारसहित ट्रफी पाए ।
बिजेता सैनिक युथले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता बेलबारीले ३ लाखमा चित्त बुझायो । झापाले प्रदेश १ को प्रतिनिधित्व गर्दै राष्ट्रिय लिगमा सहभागिता जनाउनेछ । विजयी खेलाडीहरुलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले पुरस्कृत गरे ।