झापा । फिफा विश्वकप २०२२ छनोटको दोस्रो चरण अन्तर्गत नेपाल तुलनात्मक रूपमा सहज समूहमा परेको छ । विश्वकप छनोटमा नेपाल समूह बी मा परेको हो । नेपालसँगै समूहमा अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत परेका छन् । अन्तिम खेलतालिका केहि समयमा थाहा हुनेछ ।

समूह ए : चीन, सिरिया, फिलिपन्स, माल्दिभ्स, गुआम

समूह बी : अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ, कुवेत, नेपाल

समूह सी : इरान, इराक, बहराइन, हङकङ, कम्बोडिया

समूह डी : साउदि अरेबिया, उज्बेकिस्तान, प्यालेस्टाइन, यमन, सिंगापुर

समूह ई : कतार, ओमान, भारत, अफगानिस्तान, बंगलादेश

समूह एफ : जापान, किर्गीस्तान, ताजिकिस्तान, म्यानमार, मंगोलिया

समूह जी : यूएई, भिएतनाम, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया

समूह एच : दक्षिण कोरिया, लेबनान, उत्तर कोरिया, तुर्कमेनिस्तान, श्रीलंका

दोस्रो चरणका छनोटका खेलहरु डबल राउन्ड रोबिन पद्दतिमा घरेलु र अवे टोलीको मैदानमा खेलिनेछ । दोस्रो चरणका खेलहरु सेप्टेम्बर ५, २०१९ देखि जुन ९, २०२० सम्म हुनेछ । नेपालले एसियाको शीर्ष ३४ स्थानभित्र परेपछि सिधै दोस्रो चरणका लागि छनोट भएको थियो ।

समूह चरणबाट कुल १२ टोली विश्वकप छनोटको अन्तिम चरणका लागि छनोट हुनेछन् । ८ समूहका समुह विजेता र ४ उत्कृष्ट उपविजेताले सन् २०२३ मा हुने एसियन कपमा पनि स्थान पक्का गर्नेछन् । अन्तिम छनोटका ४ उत्कृष्ट टोलीले विश्वकपमा स्थान बनाउनेछन् भने पाँचौ टोलीले अन्तर महादेशीय प्लेअफमा प्रतिस्पर्धा गर्नुपर्ने छ ।

गत संस्करणमा नेपाल विश्वकप छनोटको प्रारम्भिक चरणबाट नै बाहिरिएको थियो । प्लेअफमा भारतको सामना गरेको नेपाल पहिलो लेग २-० ले गुवाहाटीमा पराजित भएपछि दोस्रो लेगमा गोलरहित बराबरीमा रोकेको थियो । नेपाल यसपटक भने सिधै दोस्रो चरणमा पुगेको हो । अब छनोटको अन्तिम चरणमा पुग्न भने नेपालले बलिया टोलीविरुद्ध खेल्नुपर्ने भएको छ ।