एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले जिम्बावे क्रिकेटलाई निलम्बन गरेको छ । क्रिकेटमा राजनीतिक हस्तक्षेप भएको जनाउँदै आईसीसीले निलम्बनको निर्णय गरेको हो । बिहीबार लण्डनमा भएको आईसीसी बोर्डको बैठकले जिम्बावे क्रिकेटमाथि सबै अनुदानहरु रोकेको छ भने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पनि बन्देज लगाएको छ ।

सरकारी हस्तक्षेप, राजनीतिक कारण र आईसीसीको २.४ धारा विपरित काम गरेको भन्दै जिम्बावेलाई निलम्बन लगाएको हो । यो सँगै अक्टोबरमा यूएईमा हुने टी ट्वान्टी ग्लोबल विश्वकप छनोट जिम्बावेले खेल्न पाउने संभावना न्युन रहेको बताईएको छ ।

‘खेललाई राजनीतिमा मुछेका कारण यो निर्णयमा पुगेका हौं’, आईसीसीका अध्यक्ष शशांक मनोहरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘आईसीसीको विधानसँग बाझिने गतिविधि जिम्बावेमा भएको थियो, जसलाई हामी नजरन्दाज गर्न सक्दैनौं ।’

यसअघि जिम्बावेको खेलकुद तथा मनोरञ्जन आयोगले त्यहाँको बोर्ड निलम्बन गर्दै तदर्थ समिति बनाएको थियो । बोर्डको प्रशासनमा अनियमितता तथा भ्रष्टाचार भएका कारण सरकारले यस्तो निर्णय गरेको थियो । तर, त्यसलाई आईसीसीले सरकारी हस्तक्षेप देख्यो ।

आईसीसीले जिम्बावे क्रिकेटका पदाधिकारीलाई यो मुद्धा तीन महिनाभित्र समाधान गर्नका लागि अल्टिमेटम दिएको छ । आईसीसीको बोर्ड बैठक अक्टोबरमा हुनेछ र यो बैठकमा पुनरावलोकन गर्न सकिने बताइएको छ ।

आईसीसीले क्रोएसिया र जाम्बियाको क्रिकेट बोर्डलाई पनि निलम्बन गरेको छ भने आईसीसीको मापदण्ड नपुगेको भन्दै मोरक्कोको क्रिकेट बोर्डलाई निष्कासन गरेको छ ।