झापा । नेपाली राष्ट्रिय क्रिकेट टोली टि-२० विश्वकप २०२० को एसिया छनोट खेल्न शनिबार सिंगापुर पुगेको छ । नेपालले सिंगापुर आगमन गरेसँगै आइतबार नै प्रशिक्षण गर्नेछ ।

२२ जुलाई देखी २८ सम्म सिंगापुरमा चल्ने प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले आगमी अक्टोबरमा हुने विश्वकपको ग्लोबल क्वालिफायर छनोट खेल्न पाउनेछ । छनोट प्रतियोगिताको तयारीको रुपमा मलेसियासँगको दुई टी ट्वान्टी आई सिरिज क्लिन स्वीप गरे पनि नेपालले आफ्नो स्तरअनुसार प्रदर्शन गर्न भने सकेन । सिंगापुर र मलेसियाको वातावारण उस्तै रहेकाले नेपालले मलेसियामा प्रशिक्षण तथा मैत्रीपूर्ण खेल खेलेको थियो ।

नेपालले पहिलो खेल २३ जुलाईमा कतारसँग खेल्ने छ । त्यस्तै २४ जुलाईमा मलेसियाको सामना गर्ने छ । २७ मा कुवेत र २८ जुलाईमा सिंगापुरसँग खेल्ने । तुलानात्मक रुपमा कमजोर टोलीमाथि नेपाललाई सहज जितसँगै कीर्तिमान बनाउने राम्रो अवसर छ ।

नेपाली टोली : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, प्रदीप ऐरी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, पवन सरार्फ, अभिनाष बोहोरा, विनोद भण्डारी, करण केसी र ललित नारायण राजवंशी