एजेन्सी । बेल्जियन फरवार्ड इडेन हजार्डले ‘डेब्यू’ गरेको खेलमा स्पेनिस महारथी रियाल म्याड्रिडले प्रि-सिजनको पहिलो खेलमा हार बेहोरेको छ । प्रि-सिजनको इन्टरनेसनल च्याम्पियन्स कपमा रियल म्याड्रिडले जर्मन च्याम्पियन बायर्न म्युनिखसँग ३-१ को हार बेहोरेको हो ।

अमेरिकास्थित टेक्ससमा आइतबार बिहान भएको खेलमा बायर्नको जितमा कोरेन्टिन टोलिसो, रोवर्ट लेवान्डोस्की र सर्जी जिनब्रीले गोल गरे । रियलका रोड्रिगोले एक गोल फर्काए ।

खेलको १५औं मिनेटमा कोरेन्टिन टोलिसोले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ६७औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले अग्रता दोब्बर पारे । ७०औं मिनेटमा सर्जी जिनाब्रीले गर्दै बायर्नलाई ३-० ले अघि बढाए ।

८१औं मिनेटमा बायर्न १० खेलाडीमा समेटिएको थियो । बायर्नका एसभेन अलरिइच रातो कार्ड खादै मैदानबाट बाहिरिए । त्यसपछि ८५औं मिनेटमा रोड्रिगोले गोल गर्दै खेललाई ३-१ को अवस्थामा ल्याएपनि हार टार्न सकेन । रोड्रिगोको रियालमा ‘डेब्यु’ गोल हो ।

यसै सिजन इंग्लिस क्लब चेल्सीबाट १ सय ५० मिलियन पाउन्डमा ५ वर्षका लागि रियल पुगेका हजार्डले पहिलो रोजाईमा खेलेका थिए । उनलाई दोस्रो हाफको शुरुमै भेनेसियस जुनियरले प्रतिस्थापन गरेका थिए । रियलले दोस्रो हाफमा सबै खेलाडी परिवर्तन गरेको थियो ।

रियलले यसै सिजन क्लबमा अनुबन्ध गरेका जापानी मेस्सी टाकेफुसा कुवो, रोड्रिगो, फरल्यान्ड मेन्डी र लुका जोभिकलाई पनि मौका दिएको थियो ।

च्याम्पियन्स कपमा बायर्नको पहिलो जित हो । बायर्न पहिलो खेलमा आर्सनलसँग २–१ ले पराजित भएको हो । बायर्नले २ खेलबाट ३ अंक जोडेको छ । रियाल अंकविहीन छ ।