काठमाडौं । फिफाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबल महासंघ (फिफा) ले जुलाईका लागि बिहीबार पुरुषतर्फ जारी गरेको वरियतामा नेपाल १ सय ६६ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १ सय ६४ औं स्थानमा थियो । मेमा नेपाल १ सय ६१ औं स्थानमा थियो ।

नेपालले दुई वटा मैत्रीपूर्ण खेल खेलेको एक साता भन्दा केहि बढी समयपछि गत महिनाको वरियतामा नेपाल ४ स्थान तल झरेको थियो । जेठ १९ मा मलेसियासँगको मैत्रीपूर्ण खेल २-० ले गुमाएको नेपालले जेठ २३ गते चाइनिज ताइपेलाई भने १-१ को बराबरीमा रोकेको थियो ।

फिफा वरियता अनुसार दक्षिण एसियामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । भारतमा एक सय एक र माल्दिभ्स १ सय ५२ औं स्थानमा छ । एसियाली मुलुकमा भने ४६ मध्ये नेपाल ३५ औं स्थानमा छ ।

दक्षिण एसियाका अन्य मुलुकमा बंगलादेश १ सय ८२ औं, भुटान १ सय ८६ औं, श्रीलंका २ सयौं र पाकिस्तान २ सय ४ औं स्थानमा छ ।

बेल्जियम फिफा वरियताको शीर्ष स्थानमा यथावत रहँदा कोपा अमेरिका विजेता ब्राजिल दोस्रो, विश्व कप विजेता फ्रान्स तेस्रो, इग्ल्यान्ड चौथो र उरुग्वे पाँचौ स्थामा छ ।