काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । शनिबार भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १६ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । जितसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब नेपालले आइतबार आयोजक सिंगापुरसँग अन्तिम खेल खेल्नेछ । सिंगापुरलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहदै ग्लोबल छनोटमा पुग्ने छ ।

नेपालको जितमा कप्तान पारस खड्काले कीर्तिमानी अर्धशतक बनाए । ओपनर समेत रहेका कप्तान पारसले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । ३२ बलमा अर्धशतक बनाएका पारसले ११ चौका १ छक्का प्रहार गरे ।

योसँगै कप्तान पारस टी-ट्वान्टी अन्तराष्ट्रियमा तीन अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । यसअघि कप्तान पारसले नेदरल्याण्ड र मलेसियाविरुद्ध अर्धशतक बनाएका थिए । यस्तै शरद भेषवाकरले ३८ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । कुवेतका लागि कप्तान मुहमद कासिफले अविजित रहदै सर्वाधिक ४९ रन बनाए । यस्तै आदनन इद्रेसले २५ तथा मोहमद आस्लमले २३ रन बनाए । त्यसबाहेक राभिजा डी सिल्भाले १५ र बिलाल ताहिरले १३ रन जोडे ।

कुवेतलाई सस्तैमा रोक्न स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीले ३र३ विकेट लिए । सन्दीपले ४ ओभरमा २१ रन खर्चिए भने बसन्तले २० रन खर्चिए । यस्तै करण केसीले २ तथा अविनाश बोहराले १ विकेट लिए ।