काठमाडौं । आज बिहीबारदेखि स्तनपान सप्ताह सुरु भएको छ । यो वर्ष ‘प्रमोसन अफ दी ब्रेस्ट फिडिङ’ नाराका साथ स्तनपान दिवस मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको अगुवाइमा अगस्ट १ देखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिएको छ ।

नेपाललगायत विश्वका १७० भन्दा बढी देशले एक हप्तासम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाउने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन सुरु गरिएको हो ।

स्तनपान गराउँदा महिलामा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह टाइप-२ र सुत्केरीपछि मनोरोगको सम्भावना न्यून रहने बाल विशेषज्ञहरु बताउँदछन् । त्यस्तै बच्चालाई दूध चुसाउँदा आमाको अनुहार बिग्रन्छ भन्ने गलत मानसिकता रहेको पनि चिकित्सकहरुको बताइछ । बाल विशेषज्ञ डा. जुनसिंह डङ्गोलका अनुसार स्तनपान आमा र बच्चा दुवैको स्वास्थ्यका बहुउपयोगी र अनिवार्य आवश्यकता हो ।

यस्ता छन् स्तनपान गराउनुका फाइदा

  • गर्भावस्थामा बढेको तौललाई कम गर्न स्तनपानले सहयोगी भूमिका खेल्ने गर्छ ।
  • ओस्टियोपोरोसिस रोगको विकास हुने सम्भावना कम हुन्छ ।
  • स्तन, गर्भाशय क्यान्सरको सम्भावना कम हुन्छ ।
  • बच्चासँगको आत्मीय सम्बन्ध विकास गराउँछ ।
  • स्तनपान गराएका बच्चाको मस्तिष्क विकास उत्कृष्ट हुन्छ र बुद्धि निकै तेज हुन्छ ।
  • आमाको दूधमा रोगसँग लड्न सक्ने प्रतिरक्षात्मक तत्त्व हुन्छ, जुन बच्चाको शारीरिक र मानसिक विकासका लागि अति अपरिहार्य छ ।
  • स्तनपानले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै पुड्कोपना, कुपोषण, होचोपना लगायतका रोगबाट बचाउँछ ।
  • आमाको दूधमा पाइने कोलस्ट्रम (बिगौती) दूधमा विभिन्न रोगसँग लड्न सक्ने क्षमता (इम्युनिटी) हुने हुँदा शिशुलाई झाडापखाला,
  • निमोनिया जस्ता घातक सङ्क्रमणबाट बचाउँछ ।
  • स्तनपानले आमा र बच्चाको सौन्दर्य अझ सुन्दर हुन्छ ।
  • आमाले शिशुलाई स्तनपान गराउँदा आत्मीयता, भावनात्मक सुखानुभूति, गौरव, मानसिक रूपमा स्वस्थ एवं आत्मसन्तुष्टि प्राप्त हुन्छ ।

दूध खुवाउने तरिका

  • हरेक दुई वा तीन घण्टामा बच्चालाई स्तनपान गराउनुपर्छ ।
  • प्रत्येक स्तनबाट १० देखि १५ मिनेट दूध खुवाउनुपर्छ ।
  • जति स्तनपान गरायो, त्यति नै धेरै स्तनबाट दूध उत्पादन गर्न प्रोत्साहित हुन्छ ।
  • स्तनपान समयमा गराए कुनै पनि बच्चा झगडालु र उद्दण्ड हुँदैन ।