ताप्लेजुङ । चौँथो पाथिभरा गोल्ड कप यही साउन ३० गतेदेखि भदौ ६ गतेसम्म फुङलिङको भानुजन माविको खेल मैदानमा सञ्चालन हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत लाखे जात्रा सञ्चालक समितिले उक्त जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै लाखेजात्रा सञ्चालक समितिका अध्यक्ष नारायण थापाले पाथीभरा गोल्डकपमा नेपालका चर्चित क्लब र भारतक सहित १० टिम सहभागी हुने जानकारी दिए ।

जसमा इलामको रेडहर्ष फुटबल क्लब, पाँचथरको फिदिम स्पोर्टिङ क्लब, झापा बिर्तामाडको रेडस्टार फुटबल क्लब, मोरको बेलबारी फुटबल क्लब र डाँगीहाट फुटबल क्लब, सुनसरीको इलाभेन एरोज फुटबल क्लब, भारतको रोयल एफसी सिलगडी र ताप्लेजुङका २ वटा क्लबसहित जम्मा १० टिमले सहगागिता जनाउने बताइएको छ ।

पाथीभरा गोल्डकपमा म्यान अफ दी म्याच ८ खेलको लागि ५ हजारको दरले जम्मा ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । फाइनल खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, उदयीमान खेलाडी, बेस्ट कोच, बेस्ट मिडफिल्डर, सर्बोत्कृष्ट खेलाडी, सर्बोत्कृष्ट डिफेण्डर र स्ट्राइकरलाई जनाही ६ हजार रुपैयाँका दरले ३६ हजार पाउने आयोजकले जानकारी दिएको छ ।

गोल्डकप विजेताका लागि २०४ तोला चाँदी र ३ तोला सुनजडित ट्रफीसहित नगद ३ लाख ११ हजार पुरस्कार राशि छ । उपबिजेता हुनेले १ लाख ५१ हजार नगदसहित प्रमाणपत्र र ट्रफी पाउनेछ ।

पाथीभरा गोल्डकप बिगत ४ वर्षदेखि लाखे जात्रा तथा जनै पूर्णिमाको अवसरमा लाखे जात्रा सञ्चालक समितिले प्रतियोगिता आयोजना गर्दै आएको छ ।