सुबिन घिमिरे,
सुरु गरौं आफ्नै घरबाट, प्रशिक्षक संघका अध्यक्ष महोदय नमस्कार ! जिल्ला संघमा थोरै पारिश्रमिक लिएर वा नलिएरै पनि अहोरात्र फुटबल विकासमा योगदान पुर्याउँदै आउनुभएका सम्पूर्ण प्रशिक्षकहरुप्रति खुलेरै भित्री हृदयदेखि धन्यवाद ।
अध्यक्ष ज्यु, के जिल्लामा नियुक्ति लिई खटाईएका प्रशिक्षकमात्र प्रशिक्षक हुन् त ? हुन् भने कसरी ? होईनन् भने देशब्यापी रुपमा रहेका कति प्रशिक्षकहरु यहाँको संघभित्र अटाएका छन् त ? एएफसी मान्यता प्राप्त ‘ए’ ‘बी’ ‘सी’ पास गरेका कति जना प्रशिक्षक छन् यहाँलाई यकिन छ होला ? सायदै होला, मलाई त लाग्दैन ।
प्रशिक्षक संघको अध्यक्ष आफैं, प्रदेश ३ को मुख्य प्रशिक्षक आफैं, अब फेरि प्रदेश ३ को महिला टोलीको प्रशिक्षक पनि आफैं ? ओ हो ! मान्यो है तपाईंको मनले ? अलिकति पनि असहज महशुस भएन ? यही हो त तपाईंले निभाउनु पर्ने अभिभावकत्व ? तपाईं एक योग्य, कर्मठ अनि ईमान्दार प्रशिक्षक हुनुहुन्छ त्यसमा हामी एकदमै खुसी छौँ ।
कुनै इश्र्या हैन मात्र कुरा तपाईंले निभाउन नसक्नु भएको धर्मको हो, जहाँ तपाईं धेरै कमजोर रहेको साबित भयो । यति भइरहँदा मुग्दर्शक बनेको एन्फा नेतृत्व लाचार भएको हामीलाई भान भयो आखिर किन ? यहाँले चयन गर्नु भएको प्रशिक्षकहरु स्वच्छ प्रतिस्पर्धाबाट आएका हुन् त ? यदि हुन् भने हामीले प्रतिस्पर्धा गर्ने त्यो अवसर किन पाएनौ अथवा बन्चित गराईयो जवाफ चाहियो ?
एउटै जिल्लाबाट नेशनल लेभलमा हालसालै ३ देखि ४ प्रशिक्षक नियुक्ति गर्दा किन एन्फा लाचार अनि मौन छ ? यही हो त समानता ? यहाँले गठन गर्नु भएको अनेकौ बिभागले आ-आफ्नो काम कर्तव्य सहि ढंगले गरेका छन् त ? यो देशको खेलप्रति हामीलाई पनि उत्तिकै माया छ जति माया यहाँहरुलाई छ ।
प्रशिक्षक नियुक्ति गर्दा के-के कुरामा ध्यान दिईन्छ ? पक्कै पनि प्रशिक्षकको खेलप्रतिको लगाब, स्तर, हासिल गरेको उपलब्धि ? यसलाई आधार मान्ने हो यदि भने राख्नुस मेरो नाम पनि प्रतिस्पर्धाको रेशमा लड्न तयार छु ।
हामी लालायित छौं देशको लागि सेवा गर्न यति भनिरहँदा बुझाईमा अर्को अर्थ नलागोस् म हुनै पथ्र्यो भन्ने । तर, अवसर पाएको खण्डमा केही गरेर देखाउने साहस नभएको भने होईन । म सम्झन चाहन्छु मेरा समकक्षीहरुलाई ओम श्रेष्ठ, बालगोपाल, साहुखल, जिवेश, बिल तामाङ, शैलेश कर्माचार्य लगायत अरु अन्य धेरै छन् जो योग्य प्रशिक्षक हुन् मेरा लागि तर बिडम्बना भर्खरै नियुक्त गरिएका प्रदेश प्रशिक्षकको सुचीमा वहाँहरुको नाम देख्न सकिएन ।
अनि सम्झन चाहन्छु ती इतिहास बोकेका हिरोहरुलाई जो रोजगारीको सिलसिलामा बिदेशिएर पनि फुटबललाई आफ्नो मन मस्तिस्कबाट हटाउन सकेका छैनन्, बिदेशमा रहेर पनि फुटबलसँग जोडिएरै रहेका छन् । कुमार थापा, बसन्त गौचन, प्रदिप हुमागाईं तथा अरु थुप्रै लिजेन्डहरु यी नाम जो आतुर छन् देशको सेवा गर्न ।
छन् त केबल एन्फाको बोलावटको पर्खाइमा जो बिदेशलाई माया मारेरै भए पनि देशको फुटबल बिकासमा योगदान पुर्याउन हाम फालेर आउन तयार छन् । आशा गरौं मनन् गर्नेछ नेतृत्वले, गर्न खोज्नेको हितमा हुनेछ एन्फा साच्चै परिवर्तनको आभास दिलाउने छ सम्पुर्ण खेलाडी अनि खेलप्रेमीहरुलाई ।
अन्त्यमा बधाईका साथै शुभकामना दिन चाहान्छु जो भर्खरै चुनिनुभएको छ जिल्ला, प्रदेश अनि देशकै फुटबललाई उचाईमा पुर्याउन । यहाँहरुको लगन र मिहिनेतले मुर्तरुप लिनेछ र अनन्तकालसम्म यहाँहरुलाई भावी पिंढीले सम्झने खालको योगदान र सेवा प्रदान गर्न सक्नुहोस मेरो हृदयदेखि सबैलाई शुभकामना । धन्यवाद !
(हेटौडा निवासी घिमिरे एएफसी बी लाइसेन्स कोच हुन् ।) खेल दैनिकबाट