एजेन्सी- म्यानचेस्टर सिटीले गत सिजन लिगको जित यात्रालाई कायम राख्दै नयाँ सिजनको पहिलो उपाधि हात पारेको छ । आइतबार लिभरपुललाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै सिटीले कम्युनिटी सिल्ड जितेको हो ।

निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । सिटीले खेलको १२औं मिनेटमा रहिम स्टरलिङको गोलमा अग्रता लिएको थियो । उनले डेविड सिल्भाको फ्लिकलाई पोस्टको दिशा दिंदा गोलरक्षक एलिसनले बचाउन सकेका थिएनन् । पहिलो हाफमा सिटीले आफ्नो अग्रता कायम राख्यो ।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने अवसर चुकाए । स्टरलिङले वन भर्सेस वनको स्थितिमा गरेको प्रहार पोस्टमा लागेको थियो । लिभरपुलका भर्जील भान डाइक र मोहमद सलाहको प्रहारमा पनि पोस्ट नै बाधक बन्यो । खेलको ७७ औं मिनेटमा लिभरपुलले बराबरी गोल फर्कायो । भान डाइकको क्रसमा वैकल्पिक खेलाडी जोएल माटिपले हेडरमार्फत गोल गरे ।

खेलको अन्तिम मिनेटमा मोहमद सलाह लिभरपुलको जित पक्का गर्ने अवसरबाट विमुख भए । उनले गरेको चिप प्रहारले गोलरक्षक बिट भएपनि डिफेन्डर काइल वाल्करले उत्कृष्ट बचाउ गरे । टाइब्रेकरमा सिटीका पाँचै प्रहार गोलमा परिणत भयो । लिभरपुलका जिओर्जिनियो वाइनल्डमको दोस्रो प्रहार गोलरक्षक ब्राभोले बचाएपछि सिटीले त्यसै आधारमा उपाधि जित्न सफल रहयो ।