झापा । एक नम्बर प्रदेशस्तरीय महिला फुटबलको उपाधि झापा झिलझिलेको शिवसताक्षी ११ ले जितेको छ । झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा भएको फाइनल खेलमा अर्जुनधारा झापाको पारिजात महिला एफसीलाई सडन डेथमा हराउँदै शिवसताक्षी ११ ले उपाधि रक्षा गरेको हो ।

उपाधि जितेसँगै शिवसताक्षी ११ महिला एफसी १ नम्बर प्रदेशकै च्याम्पियन बनेको हो । निर्धारित ७० मिनेटको खेलमा दुवै टिमले २-२ गोलको बराबरी खेलेपछि उपाधि निर्णयका लागि टाइबे्रकर रोजिएको थियो । टाइबे्रकरमा पनि समान ३-३ को बराबरीमा रोकिएपछि अन्तिम निर्णयका लागि सडनडेथ गराइएको थियो ।

पारिजातकी मोनिका राईले प्रहार गरेको बल गोल पोष्टबाट बाहिरिएपछि झापाको शिवसताक्षी ११ महिला एफसीको भाग्यको ढोका खुलेको हो ।

खेलको दोस्रो हाफको ४०औँ मिनेटमा पारिजातका तर्फबाट सुस्मिता लेप्चाले डि एरिया बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत हुँदा शिवसताक्षी १-० गोलले पछि परेको थियो । तर, ४७औँ मिनेटमा शिवसताक्षीका तर्फबाट कुमारी तामाङ्को लामो प्रहार गोलमा परिणत भएपछि खेलमा फर्किएको हो ।

खेलको ५५आँै मिनेटमा पारिजातकी क्याप्टेन संरचना श्रेष्ठले गोल गरेर टिमलाई २-१ को अग्रता दिलाइन् । तर, अन्तिम तीन मिनेट सम्हालिन नसक्दा पारिजातले खेलसँगै उपाधि गुमाउन पुग्यो ।

खेलको उत्तराद्र्धको थप ३ मिनेटमा सरिता शेर्पाले शिवसताक्षीको तर्फबाट सम्झनलायक गोल गरेपछि खेल टाइब्रेकरहँदै सडन डेथसम्म पुगेको थियो ।

विजेता शिवसताक्षी ११ महिला एफसीले ५१ हजार नगदसहित मेडल ट्रफी र प्रमाणपत्र पाएको थियो भने उपविजेता पारिजातले नगद ३१ हजारमा चित्त बुझायो ।