ताप्लेजुङ । यहाँ जारी चौथो पाथीभरा गोल्ड कप २०७६ को पहिलो क्वाटरफाइनल खेलमा इलामको रेड हर्ष फुटबल क्लब विजयी हुँदै सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ । पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई शनिबार टाइब्रेकरमा पराजित गर्दै इलामले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । जसमा इलाम ३-२ गोलले विजयी भयो । दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । तर, अन्तिम हाफमा पनि १-१ गोलको बराबरी भएपछि टाइब्रेकरबाट छिनोफानो भएको हो । जसमा इलामका लागि विदेशी खेलाडी फो फोनाले खेलको ४९औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए ।

तर, फिदिमका लागि मनोज गुरुङले खेलको ५६औँ मिनेटामा गोल गरेर खेललाई बराबरीमा ल्याए । टाइब्रेकरमा भाग्यमानी सावित भएको इलामका लागि विदेशी खेलाडी फो फोना, टेम्पे र विवेक राईले गोल गरे भने प्रदिप विष्ट र हरि सिटौलाको प्रहार फिदिमका गोलरक्षकले बचाउ गरे ।

फिदिमका लागि गजित राई र शरण बस्नेतको प्रहारमात्र गोलमा परिणत भयो । प्रविण जवेगु, जमिन लक्समको प्रहार इलामका गोलरक्षकले बचाए भने मनोज गुरुङको प्रहार बाहिरिएको थियो । खेलको म्यान अफ दी म्याच इलामका सौरभ सुवेदी घोषित भए । उनले पुरस्कारस्वरुप नगद ५ हजार पाए ।

गोल्डकपको विजेताले नगद ३ लाख ११ हजार १११ र उपविजेताले नगद १ लाख ५१ हजार १११ पाउने प्रतियोगितामा आइतबार बेलबारी फुटबल क्लब र डाँगीहाट फुटबल क्लब मोरङबीच खेल हुनेछ ।