ताप्लेजुङ । सुनसरीको एलेभेन एरोज क्लब यहाँ जारी चौथा पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो क्वाटरफाइनल खेलमा पाहुना टोली भारत दार्जीलिङको युकेएफसीलाई सोमबार पराजित गर्दै सुनसरीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा सुनसरीले २-० गोलको नतिजामा दार्जीलिङलाई घर फर्काएको हो । एलेभेन एरोजका लागि दुवै गोल विदेशी खेलाडी यानिक ओवनाले गरेका थिए । खेलको पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो होफको ५२औँ मिनेटमा यानिकले गोल गरेर खाता खोलेका थिए । त्यसको ४ मिनेट नबित्दै उनैले व्यक्तिगत दोस्रो गोल गरेर टिमलाई जिताए ।

खेलको म्यान अफ दी म्याच एलेभेन एरोजका रुपेश केसी घोषित भए । उनले पुरस्कारस्वरुप नगद ५ हजार पाए । भोलिको खेल झापा बिर्तामोडको साविक विजेता रेड स्टार एफसीविरुद्ध गोर्खा स्पोर्टिङ क्लब दमकबीच हुनेछ ।

गोल्डकपको विजेताले नगद ३ लाख ११ हजार १११ पाउँदा उपविजेता टिमले १ लाख ५१ हजार १११ रुपैयाँसहित ट्रफी पाउनेछ ।