ताप्लेजुङ । सुनसरीको एलेभेन एरोज क्लब यहाँ जारी चौथो पाथीभरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा संघर्षपूर्ण जीत निकाल्दै सुनसरी फाइनल पुग्ने पहिलो टोली बनेको छ ।

स्पर्धी रेड हर्ष फुटबल क्लब इलामलाई २-० गोलको झिनो अन्तरले पराजित गर्दै सुनसरी फाइनल यात्रा तय गरेको हो । जीतसागै उसले कम्तिमा १ लाख ५१ हजार रुपैयाँ सुरक्षित गरेको छ । खेलको पहिलो हाफमा सुनसरीका लागि विदेशी खेलाडीले गोलको खाता खोलेका थिए भने अर्को गोल खेलको अन्त्यतिर सब्स्च्यिूट खेलाडीबाट भएको हो ।

प्रतिस्पर्धात्मक खेलमा सुनसरीका विदेशी खेलाडी यानिक ओवानाले पहिलो हाफको ३५औँ मिनेटमा इलामको डिबक्सभित्र पाएको अवसरलाई सदुपयोग गर्दै गोलमा परिणत गरेका थिए । दोस्रो हाफको ४४औँ मिनेटमा श्याम चौधरीले थप गोल गर्दै सुनसरीको अग्रता दोब्बर बनाउन सफल भए । यसअघि भएका दुवै टोलीको प्रयास खेर गएको थियो । दुवै टोलीले विदेशी खेलाडीसहित नाम चलेका क्लब र खेलाडीलाई मैदानमा उतारेको थियो ।

खेलमा फर्किने अथक प्रयास गरेको इलामले यसअघि पोमु केछाङ ताप्लेजुङ र फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई पराजित गरेर सेमिफाइनल खेल खेलेको हो । सुनसरीले भने दार्जीलिङको युकेएफसीलाई पराजित गर्दै इलामलाई सेमिफाइनलमा भेट पक्का गरेको हो ।

खेलको म्यान अफ दी म्याच सुनसरीका पहिलो गोलकर्ता यानिक ओवाना घोषित भए । उनले पुरस्कारस्वरुप नगद ५ हजार पाए । भोलिको अन्तिम सेमिफाइनल खेल मोरङको डाँगीहाट फुटबल क्लब र झापा बिर्तामोडको रेड स्टार फुटबल क्लबबीच फाइनल प्रवेशका लागि भिडन्त हुनेछ ।

गोल्डकपको विजेताले नगद ३ लाख ११ हजार १११ पाउँदा उपविजेता टिमले १ लाख ५१ हजार १११ रुपैयाँसहित ट्रफी पाउनेछ ।