ताप्लेजुङ । एलेभेन एरोज क्लब सुनसरीका प्रवेश दनुवार यहाँ आयोजित चौथो पाथीभरा गोल्डकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले नगद १० हजार र ट्रफी पाए ।

त्यस्तै, विधागत पुरस्कारमा सर्वाधिक गोलकर्ता एलेभेन एरोजका यानिक ओवाना घोषित भए । उनले प्रतियोगितामा सर्वाधिक चार गोल गरेका थिए । उनले पुरस्कारस्वरुप नगद ६ हजार पाए ।

प्रतियोगिताकै उत्कृष्ट गोलरक्षक सुनसरीका प्रिसो घोषित भए । एलेभेन एरोजका कप्तान विष्णु सुनुवार बेस्ट डिफेन्सबाट पुरस्कृत भए । बेस्ट मिडफिल्ड रेडस्टारका योगेश गुरुङ घोषित भए । बेस्ट फरवार्ड पनि रेडस्टारकै मिलन राई पुरस्कृत भए । बेस्ट कोचमा एलेभेन एरोजका विश्वबन्धु पोख्रेल घोषित भए । उनीहरुले जनही ६-६ हजार रुपैयाँ पाए ।

राइजिङ प्लेयर ताप्लेजुङ ११ आयोजक टिमका मणिराज लिम्बू घोषित हुँदा म्यान अफ दी फाइनल भने रेडस्टारका मनोज राई घोषित भए । मणिराजले नगद ६ हजार र मनोजले नगद ५ हजार पाए ।

सोही कार्यक्रममा उत्कृष्ट पत्रकारका रुपमा अन्नपूर्णपोष्टका सम्वाददाता सीताराम गुरागाईं घोषितहुँदै नगद १० हजारबाट पुरस्कृत भए । गतवर्ष उत्कृष्ट पत्रकारका रुपमा देवराज गुरुङलाई पनि सोही समारोहमा पुरस्कृत गरिएको थियो ।

यस चौथो संस्करणको विजेता एलेभेन एरोज क्लबले नगद ३ लाख ११ हजार १११ र उपविजेता रेडस्टार फुटबल क्लब झापाले १ लाख ५१ हजार १११ रुपैयाँ र ट्रफी पायो ।