काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टोली आज (शनिबार) श्रीलंका प्रस्थान गर्दैछन् । श्रीलंकामा अर्को साताबाट सुरु हुने प्रतियोगिताका लागि नेपाली टोली शनिबार त्यसतर्फ जान लागेका हुन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका टिम म्यानेजर रमण सिवाकोटीका अनुसार नेपाली टोली शनिबार अपरान्ह ३:४५ मा श्रीलंका प्रस्थान गर्ने छन् ।

नेपाली टोली एक साता श्रीलंकामा बिशेष तयारी गर्न चाडै त्यसतर्फ जान लागेका हुन् । प्रतियोगिता अघि नेपालले केहि अभ्यास खेल खेल्नेछन् । भदौ १९ देखि सुरु हुने प्रतियोगिताका लागि नेपालले बिहिबार रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । समूह ‘बी’मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ । नेपाल गत महिना मलेसियामा सम्पन्न एसीसी यू-१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एसिया कपमा छनोट भएको थियो ।

अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

नेपाली टिम : रोहित कुमार पौडेल (कप्तान)

रित गौतम, पवन सर्राफ, मोहमद आसिफ शेख, सन्दीप जोरा, भिम सार्की, कुशल मल्ल, रशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, हरि बहादुर चौहान, प्रतिष जिसी, खडक बोहरा, लोकेश बम, सुर्य तामाङ