एजेन्सी । मोहम्मद सलाहको दुई गोल सहयोगमा मर्सिसाइड क्लब लिभरपुलले लन्डन क्लब आर्सनलमाथि जीत हात पारेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ३-१ को जित निकालेको हो। जारी सिजनमा लिभरपुलको यो लगातार तेस्रो जित हो ।

लिभरपुलले यसअघि नर्विच सिटीलाई ४-१ ले तथा साउथह्याम्पटनलाई २-१ ले हराएको थियो । आर्सनलको यो पहिलो हार हो । आर्सनलले यसअघि न्यु क्यासलमाथि १-० को तथा बर्नलीमाथि २–१ को जित निकालेको थियो । खेलको ४१औं मिनेटमा जोएल माटिपको गोलमा लिभरपुल पहिलो हाफमा १-० ले अघि बढेको थियो ।

दोस्रो हाफको शुरुमै लिभरपुलले पेनाल्टीमार्फत अग्रता दोब्बर बनायो । आर्सनलमा डिफेन्डर डेभिड लुइजले सलाहलाई लडाएपछि प्राप्त पेनाल्टीमा सलाह आफैले गोल गरेका थिए ।

५८औं मिनेटमा सलाहले फाविन्होको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलाई ३-० ले अघि बढाए । ८५औं मिनेटमा लुकास टोरेराले गोल गर्दै आर्सनललाई खेदमा फर्काउने संकेत दिएपनि त्यो निकै ढिला भइसकेको थियो । त्यसपछि थप गोल निस्क्न नसक्दा लिभरपुल ३–१ले विजयी हुन सफल भयो ।

लगातार तेस्रो जितसँगै लिभरपुल ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पराजित आर्सनल समान ३ खेलबाटै ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।