एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (आइतबार) राति साविकको विजेता बार्सिलोनाले रियल बेटिससँग प्रतिस्पर्धा गर्दैछ । सिजनको खराब सुरुवात गरेको बार्सिलोनाले घरेलु मैदानमा बेटिससँग खेल्नेछ । बार्सिलोना र बेटिसबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

क्याम्प नाउमा मैदान उत्रदा बार्सिलोना पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा एथ्लेटिको बिल्बाओसँग १-० ले पराजित बार्सिलोना बेटिसविरुद्ध स्पष्ट जित निकाल्न चाहन्छ । बार्सिलोनालाई घरेलु मैदान र समर्थकको समेत साथ रहन्छ । तर, बार्सिलोनालाई दोस्रो खेलमा समेत चोटले सताउने छ ।

घरेलु मैदानमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी, लुइस स्वारेज र ओसुमाने डेम्बेले मैदान उत्रने छैनन् । तीनै जना चोटका कारण टिम बाहिर रहेका छन् । तर, प्रशिक्षक इर्नेस्टो भाल्भर्डेले एन्टोनियो ग्रीजम्यान, राफिन्हा, डी जोङ लगायतका खेलाडी मैदान उतार्ने छन् ।

यता, घरेलु टिमविरुद्ध मैदान उत्रदा बेटिस पनि पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा बेटिस रियल भालाडोलीडसँग पराजित भएको थियो । तर, बार्सिलोनालाई उसैको मैदानमा हराउन बेटिसलाई निकै कठिन हुनेछ ।