एजेन्सी । वैकल्पिक खेलाडी इरिक म्याक्सिम चुपो मोटिङ चम्कँदा साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा शानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार भएको खेलमा पीएसजीले टोलुसोमाथि ४-० को फराकिलो जित निकालेको हो । पीएसजीको फराकिलो जितमा इरिक म्याक्सिम चुपो मोटिङले दुई तथा मार्किनेसले एक गोल गरे । एक गोल उपहार पाएको थियो ।

पार्क डि प्रिन्सेस पेरिसमा आइतबार राति घरेलु टोलीले टोलुसोलाई खेलको सुरुवातदेखि नै लगातार दबाब दिए पनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । चोटका कारण खेलको १४औं मिनेटमा एडिन्सन काभानीको स्थानमा मैदान छिरेको इरिक म्याक्सिमले ५०औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

५५औं मिनेटमा आत्मघाती गोलबाट पीएसजी खेलमा २-० ले अघि बढ्यो । डि मारियाको क्रसमा पाब्लो सारावियाले फ्लिक गरेको बल म्याथ्यु गोन्कालभेसलाई लाग्दै गोलमा परिणत भएको थियो ।

७१औं मिनेटमा एन्जल डि मारिया पेनाल्टीमा चुक्यो । गोन्कालभेसले पेनाल्टी एरियामा डि मारियालाई लडाएपछि प्राप्त पेनाल्टीमा डि मारियाको प्रहारलाई गोलरक्षक बाप्टिस्टे रेनेटले बचाएका थिए । तर, ७५औं मिनेटमा इरिकले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-० ले अघि बढाए । उनले जुआन बर्नाटको पासमा गोल गरेका थिए ।

मुख्य प्रशिक्षक थोमस टुचेलले नेयमार बिनाको टिमलाई मैदान उतारेका थिए । यसै सिजन पेरिस छाड्ने तयारी गरेका नेयमार बिनाको टिमलाई टुचेलले मौका दिने गरेका छन् ।

खेल सकिन ७ मिनेट बाँकी रहँदा मार्किनेसले गोल गर्दै पीएसजीलाई ४-० को फराकिलो जित दिलाए । जितसँगै पीएसजी ३ खेलबाट ६ अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । टोलुसो ४ अंका जोडेर १२औं स्थानमा छ ।