झापा। विश्वकप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा पराजित भएको छ । सोमबार मलेसियन लिग च्याम्पियन जोहोर डारुल टाजिम एफसीसंग भएको मैत्रीपूर्ण खेलमा नेपाली टिम १-० गोल अन्तरले पराजित भएको हो ।

सुजल श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको नेपाल पहिलो हाफको तेस्रो मिनेटमै पछाडी पर्यो । डिबक्स बाहिर फ्रिकिक पाएको जोहोरका निकोलस अवर्टोले गोल गर्न सफल भएका थिए ।

१० दिनपछि विश्व कप छनोटको यात्रा सुरु गर्ने क्रममा रहेको नेपाली टोली त्यसैको तयारीको सिलसिलामा मैत्रीपूर्ण खेलका लागि मलेसिया पुगेको हो । मिडफिल्डर सुजल श्रेष्ठको कप्तानीमा नेपाली टोली मैदान उत्रेको थियो । प्रशिक्षक जोहान कालिनले विमल घर्तिमगरलाई एक्लो फरवार्डको रुपमा मैदान उतार्दै मिडफिल्डमा जोड दिएका थिए । तर नेपाली टिमले मलेसियन क्लबविरुद्द जित निकाल्न भने सकेन ।

कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण फुटबल खेलेको हो ।

छनोटमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् । नेपालले कुवेतसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

नियमित कप्तान विराज महर्जन तथा उपकप्तानद्वय भरत खवास र किरण चेम्जोङ टोलीमा नरहेका कारण सुजल कप्तान नियुक्त भएका थिए । विश्वकप छनोट अन्तर्गत नेपाले पहिलो खेल कुवेतसँग भदौ १९ गते खेल्नेछ । स्वदेश फर्केर नेपाली टोली कुवेततर्फ प्रस्थान गर्नेछ । विश्वकप छनोट खेल्ने टोलीमा भने यसबाट केहि परिवर्तन हुनेछ ।