एजेन्सी । साफ यू-१५ च्याम्पियन्सिप अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले साविक विजेता बंगलादेशलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ । नेपालको जितमा कृष्ण यादवले २ तथा सुगन जिमी र प्रदीप लम्सालले १-१ गोल गरे । पहिलो हाफको इन्जुरी समयमा कृष्णको गोलमा नेपालले सुरुवाती अग्रता लिएको थियो । ५२औँ मिनेटमा सुगनले अग्रता दोब्बर पारे ।

७९औँ मिनेटमा बंगलादेशका मियाले अग्रता घटाएपछि त्यसको केहि मिनेटमा नै प्रदीपले ३-१ ले अगाडि बढाए । खेलको २ मिनेट समय बाँकी रहँदा कृष्णले गोल गर्दै जित पक्का गरे ।

यस जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बंगलादेश र‌ नेपालको समान ६-६ अंक भए पनि हेड टु हेडमा नेपाल अगाडि रहेको छ । लगातार तेस्रो जित दर्ता गरेको भारत शीर्ष स्थानमा छ । भारतले आजै भएको खेलमा श्रीलंकालाई ५-० ले पराजित गरेको थियो ।

पहिलो खेलमा भारतसँग ५-० ले पराजित नेपालले दोस्रो खेलमा श्रीलंकामाथि २-० को जित दर्ता गरेको थियो ।

नेपालले अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविन लिगको आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।