काठमाडौं । एन्फाले शुक्रबार कतार विश्वकप २०२२ को दोस्रो चरणको पहिलो खेल खेल्न कुवेत जानका लागेको राष्ट्रिय टोलीको बिदाई गरेको छ । विश्वकप छनोटको सुरुवाती दुई खेलका लागि नियमित कप्तान विराज महर्जन टोलीमा नपर्दा राष्ट्रिय फुटबल टोलीको कप्तान को हुने भन्ने अनिश्चित भएको छ ।

प्रशिक्षक कालीनले कप्तानको जिम्मेवारी टुंगो नलागेको र त्यसलाई ठूलो विषय बनाउन नपर्ने बताए । यधपी झन्डा ग्रहण गर्ने क्रममा भने उपकप्तान किरण मञ्चमा आएका थिए । प्रशिक्षक कालिनले नियमित कप्तान विराज राम्रो खेलाडी रहेपनि यसपटक टिममा समावेश गर्न नसकिएको बताउदै सबै २३ खेलाडी नै आफ्नो लागि कप्तान सरह रहेको बताएका छन् ।

नियमित कप्तान विराज महर्जनले विश्वकप छनोटको मैत्रीपुर्ण खेलअघि मलेसियन सुपर लिग च्याम्पियन जोहोर दारुल ताजिमविरुद्धको खेलमा पनि स्थान बनाउन सकेका थिएनन् । मलेसियन क्लबविरुद्धको मैत्रीपुर्ण खेलमा सुजल श्रेष्ठले कप्तानी गरेका थिए । त्यस खेलमा किरण चेम्जोङ र रोहित चन्द टोलीमा रहेका थिएनन् ‌।

त्यसपछि मुख्य प्रशिक्षक योहान कालिनले बिहीबार घोषणा गरेको २३ सदस्यीय टोलीमा पनि विराजले स्थान बनाउन सकेका थिएनन् । । नेपाली टोलीलाई शुक्रबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, राखेप सदस्यसचिव रमेश कुमार सिलवाललगायत एन्फा पदाधिकारीले एक कार्यक्रमका बीच बिदाई गरे । विश्वकप छनोटको पहिलो खेलको लागि नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

खेलाडीलाई बिदाई तथा सफलताको शुभकामना दिँदै राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले वरीयता भन्दा नि जितको लागि खेल्न र जितेर आउन शुभकामना दिए ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली फुटबल ऐतिहासिक क्षणमा रहेको र राम्रो नतिजा आउनेमा ढुक्क रहेको बताएका छन् । ‘अब नेपाली फुटबलले एउटा सुखद सुरुवात गर्नेछ । राम्रो खेलेर आउनु होला मेरो शुभकामना’, टोलीलाई बिदाई गर्दै अध्यक्ष शेर्पाले भने ।

राष्ट्रिय टोलीका स्वीडिस मुख्य प्रशिक्षक योहान कालिनले लामो समयको तयारी रहेकाले कुवेतविरुद्ध जितकै लागि खेल्ने बताएका छन् । ‘हामीले लामो समय अभ्यास गरेका छौ । समग्रमा तयारी राम्रो भएको छ । हाम्रो कमि कमजोरीलाई सुधारेका छौ’, प्रशिक्षक कालिनले भने, ‘हामीले कुवेतसँग केही महिना अघि दुई खेल खेलेका छौं । एकमा पराजित भएपनि अर्को एकमा बराबरीको नतिजा छ । कुवेतविरुद्ध सकरात्मक नतिजाको खोजी हुनेछ ।’

यसैबीच, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले विश्वकप छनौटतर्फ आफ्नो पहिलो खेलमा नेपालले कुवेत हराए टोलीलाई पुरस्कृत गर्ने घोषणा गरेका छन् । स्मरण रहोस, नेपालले फिफा विश्वकप २०२२ को एसियाली छनौटतर्फ सेप्टेम्बर ५ तारीखका दिन कुवेतसँग उसकै घरेलु मैदानमा खेल्दैछ ।

शुक्रबार राष्ट्रिय टोलीको बिदाई कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले भने, ‘हामीले जोर्डन, कुवेत र चाइनिज ताइपेई विरुद्ध खेलिसकेका छौं । हाम्रो लागि अष्ट्रेलिया मात्र नयाँ प्रतिद्वन्द्वी हो । यो छनौट प्रतियोगितामा नेपालले इतिहास रच्नेमा म आशावादी छु । हामीसँग राम्रा खेलाडीहरु छन् । साथै रोहित, किरण जस्ता अनुभवी खेलाडीहरु पनि छन् । म सबै खेलाडीहरुलाई सक्दो राम्रो खेलन आग्रह गर्दछु । यो तपाईंहरुको करियर कै सबैभन्दा उत्कृष्ट अवसर पनि हो ।’

उनले अगाडि भने, ‘हामी सेप्टेम्बर ५ मा कुवेत विरुद्ध खेल्दैछ । देशका लागि खेल्नुस, तीन करोड नेपालीका लागि खेल्नुस् । तपाईंहरुलाई खुशी राख्न हामी आफ्नो तर्फबाट सक्दो गर्नेछौं । यदि तपाईंहरुले कुवेतलाई हराउनुभयो भने, हामी तपाईंहरुलाई पुरस्कृत गर्न तयार छौं ।’

फिफा विश्वकपको एसियाली छनौटतर्फ समूह बी मा रहेको नेपालले अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ विरुद्ध खेल्नेछ । विश्वकप छनौटतर्फ नेपालले यहि आउँदो सेप्टेम्बर ५ तारीखका दिन कुवेतसँग उसकै घरेलु मैदानमा खेल्दै छनौट प्रतियोगिताको यात्रा शुरु गर्दैछ ।

नेपाली टोली
गोलकिपर- किरण चेम्जोङ (कप्तान), विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डस- सरोज दाहाल, अजित भण्डारी, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्ड- रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई
फरवार्ड- विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ