बिर्तामोड । १ नम्बर प्रदेश दोस्रो मिस्टर ग्यालेक्सी बडिविल्डिङ च्याम्पियन २०७६ को प्रिजजिङ शुक्रबार बिर्तामोडमा सम्पन्न भएको छ । प्रिजजिङमा पूर्वका विभिन्न फिटनेस क्लबबाट ३७ जना खेलाडी सहभागी भएका थिए ।
विभिन्न पाँच वटा तौल समूहमा भएको प्रिजजिङमा सहभागी खेलाडीमध्ये प्रत्येक तौल समूहबाट ५-५ जना खेलाडी सेमिफाइनलका लागि छनौट हुनेछन् । पाँच जना छानिएका खेलाडीबाट प्रथम, दोस्रो र तेस्रो स्थानको छानिने छन् भने प्रथम हुने खेलाडी ओभर अल राउण्डका लागि प्रतिस्पर्धीका रुपमा छनौट हुनेछन् ।
प्रिजजिङमा ५५ केजी तौल समूहमा ७ जना खेलाडी समावेश थिए । त्यस्तै, ६० केजी तौल समूहमा ९ जना, ६५ केजी तौल समूहमा ९ जना, ७० केजी तौल समूहमा ६ जना र ७५ केजी तौल समूहमा पनि ६ जना प्रिजजिङमा सहभागी थिए ।

५५ केजी तौल समूहबाट ग्यालेक्सी फिटनेसका कमिन शेर्पा, विशाल गिरी, प्रकाश सुमाल, योगेन्द्र अधिकारी र बडी ग्यारेजका अनिल चौधरी छनौट भएका छन् । ६० केजी तौल समूहबाट यारो फिटनेसका मदनकुमार योङहाङ, बडी ग्यारेजका हर्कबहादुर राई, फिटनेस क्लबका राज लिम्बू, गो फिटका चन्दन राजवंशी र ड्याजल म्युजिकलका प्रविन राजवंशी अन्तिम पाँचमा पर्न सफल भएका छन् ।
त्यस्तै, ६५ केजी तौल समूहबाट क्लासिक फिटनेसका रवि राजवंशी, ब्रदर्स एण्ड सिस्टरका विनोद दनुवार, ग्यालेक्सी फिटनेसका विजय तामाङ, बडी ग्यारेजका चन्द्र लक्सम र बेसिक जिमका संजीव मगर छनौट भएका छन् ।
७० केजी तौल समूहबाट ग्यालेक्सी फिटनेसका सुमन लिम्बू, अक्सिजन फिटनेसका दिनेश थारु, बडी ग्यारेजका युवक खान, न्यु सेपका दिपक सरदार र फिटनेस क्लबका लोकबहादुर तामाङ छनौट भए भने ७५ केजी तौल समूहबाट त्रिभुवन आर्मी क्लबका रमेश कार्की, बडी ग्यारेजका चन्द्रशेखर ताजपुरिया, ग्यालेक्सी फिटनेसका प्रकाशचन्द्र चौधरी, व्यायामशाला इटहरीका रितिक घिमिरे र क्लासिक फिटनेसका सुनिल राजवंशी अन्तिम पाँचमा पर्न सफल भए ।
प्रिजजिङ राउण्डमा प्रमुख जज पुष्पकुमार श्रेष्ठ थिए भने जज संयोजक प्रताप बरिया रहेका थिए । त्यस्तै, अन्य जजहरुमा अनिललाल श्रेष्ठ, समे पोख्रेल, बाबुकाजी मानन्धर, अशोक पाठक, दिनेश राजभण्डारी र प्रेम खड्का रहेका थिए ।
ओभर अल फाइनल भोलि शनिबार हुनेछ । ओभर अल च्याम्पियन बन्ने खेलाडीले नगद १ लाख, ट्रफी र आकर्षक गिफ्ट ह्याम्पर पाउनेछ । ओभरअल च्याम्पियन बन्ने खेलाडीले यो पुरस्कारसँगै अशोक इक्वेपमेन्ट काठमाडौँको तर्फबाट एक लाख मूल्यबराबरको रनिङ मेसिन उपहारस्वरुप पाउनेछ ।
त्यस्तै, डाइट नेपालको तर्फबाट अन्तिम पाँच जनाको सूचीमा पर्ने खेलाडीलाई अढाइ केजीको प्रोटिन पनि प्रदान गरिने आयोजकका कोषाध्यक्ष चन्द्र राना लाफाले जानकारी दिए ।
त्यस्तै, ओभर अलबाट दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ४० हजार, चौथो हुनेले ३० हजार पाँचौ हुने खेलाडीले नगद २० हजारसहित ट्रफी पाउने आयोजकले जनाएको छ । यसबाहेक तौल समूहमा दोस्रो हुने खेलाडीले ५ हजार र तेस्रो हुने खेलाडीले ३ हजार पाउनेछन् ।काठमाडौँबाट ८ जना निर्णायक आउने च्याम्पियनसीपमा उत्कृष्ट दुई जना खेलाडीलाई पनि पुरस्कृत गरिने कोषाध्यक्ष लाफाले बताए ।
उनका अनुसार बेस्ट पोजर र मस्ट मस्कुलरको उपाधि जित्ने खेलाडीलाई जनही १०-१० हजार पुरस्कार प्रदान गरिने छ । अग्रसेन भवनमा हुने फाइनल राउण्डमा साउथ एसियन च्याम्पियनसीपमा रजत पदक विजेता बनेकी रजनी श्रेष्ठको प्रदर्शनी रहने बताइएको छ भने बिर्तामोडको राइजिङ फिटनेश स्टुडियोको तर्फबाट बली विट्स र जुम्बा प्रस्तुति रहने सञ्चालक निशा पोमुले बताइन् ।
अग्रसेन भवनमा हुने कार्यक्रमको प्रमुख अतिथि सहारा नेपाल (साकोस)का प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरी रहने निश्चित भइसकेको छ ।