विनोद सापकोटा,
झापा । झापाको मेची इङ्लिस बोर्डिङ स्कुलले ब्रिटिश काउन्सिलले प्रदान गर्ने अन्तरराष्ट्रिय स्कुल अवार्ड (आइएसए) पाएको छ । १ नम्बर प्रदेशका ४ वटा संस्थागत विद्यालयले अन्तर्राष्ट्रिय अवार्ड पाएको हो । नेपालका १५७ वटा स्कुलको प्रस्ताव काउन्सिलले स्वीकृत गरेको थियो । तर, ४१ वटा स्कुलले मात्र अवार्ड जित्न सफल भए । मेची अञ्चलमा यो वर्ष अन्तर्राष्ट्रियस्तरको अवार्ड पाउने झापाको माइधारस्थित मेची स्कुलमात्र हो ।

विश्वका ४१ वटा देशमा ब्रिटिश काउन्सिलले आफ्नो कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रत्येक वर्ष काउन्सिलले नेपालका विभिन्न विद्यालयलाई अवार्ड प्रदान गर्ने गरेको छ । काउन्सिलले २१औं शताब्दीमा आवश्यक पर्ने व्यक्तित्वका विविध आयामलाई शिक्षा र सीपका माध्यमबाट बालबालिकामा स्थानान्तरण गर्ने उत्कृष्ट विद्यालयलाई अवार्ड प्रदान गर्ने गर्दछ । विद्यालयलाई मूल्याङ्कन गर्नुअघि काउन्सिलले विभिन्न कार्यक्रमको प्रस्ताव आह्वान गर्ने र उत्कृष्ट प्रस्तावहरुलाई स्वीकृत गरी कार्यक्रम गर्न अख्तियारी दिने गर्दछ ।

कार्यक्रम गर्न दिएका विद्यालयमध्येबाट उत्कृष्ट छनौट गरी काउन्सिलले अवार्ड प्रदान गर्ने गरेको छ । प्रस्ताव स्वीकृत भएका स्कुलमध्ये प्रस्तावअनुसार कार्यक्रम सम्पन्न गरेको र उत्कृष्ट कार्य गरेको आधारमा तीमध्ये ४१ वटा विद्यालयलाई अवार्ड दिइएको मेची स्कुलका प्रिन्सिपल भिम भट्टराईले बताए ।

प्राथमिक उपचार, साइबर क्राइम, धार्मिक स्थलको संरक्षण सम्बद्र्धन गर्ने तरिका, भूकम्पबाट हुने क्षति न्यूनीकरण, बाढीपहिरो लगायत प्राकृतिक प्रकोप र तिनबाट जोगिने उपाय, स्थानीय भाषा र तिनको संरक्षण, मौलिक पोशाक र पहिचानको सम्बद्र्धन, मौलिक खाना बनाउने तरिका, लागुऔषधले मानव जीवनमा पुर्यायने क्षतिसम्बन्धीको शिक्षा र विद्युतीय साक्षरता सम्बन्धी प्रोजेक्टमा आइडल स्कुलका विद्यार्थीहरुले अध्ययन अनुसन्धान गरेका थिए ।

अवार्ड विजेता मेची स्कुलसँग बेलायतको सेन्ट जोसेफ हाइ स्कुल, सेन्ट म्यारी प्राइमरी स्कुल, बंगलादेशको श्रीपुर गभर्मेन्ट हाइ स्कुल, पाकिस्तानको आर्मी पब्लिक हाइ स्कुल र गभर्मेन्ट गल्स हाइ स्कुलसँग मिलेर ह्वाट्सएपमा विचार आदान प्रदान गरेका थिए । यी कार्यहरु सम्पन्न गर्दा ब्रिटिस काउन्सिलले समय समयमा स्कुलमा नै आएर प्रत्यक्ष अनुगमन गरेको र रिपोर्ट बुझेका थिए भने सबै काम विद्यार्थीले गर्ने र शिक्षकले सहयोगीको भूमिका मात्रै निर्वाह गरेको प्रिन्सिपल भट्टराईले बताए ।

आइडल स्कुलका विद्यार्थीले पाकिस्तानको राष्ट्रिय गीत गाउन सक्ने तथा पाकिस्तानको पार्टनर स्कुलले नेपालको राष्ट्रिय गीत गाउन सक्ने समेत भए । भट्टराईले नेपालको ठुलो चाड दशैंको महत्व र पर्व मनाउने तरिका पनि पाकिस्तानको चेक रिपव्लिकका आइडल विद्यालयले सिकेको बताए । अवार्ड विजेता स्कुलका शिक्षक तथा विद्यार्थीलाई काउन्सिलले बेलायतमा विशेष किसिमको तालिम समेत प्रदान गर्ने गरेको भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार नेपालका आइडल विद्यालय विश्वका आइडल विद्यालयसँग शिक्षण सिकाइका लागि आउने जाने गरेका छन् ।

उक्त अवार्ड काउन्सिलले एक साताअघि काठमाडाँैमा आयोजित एक भव्य समारोहमा वितरण गरेको थियो । अवार्ड जित्न विद्यालयका शिक्षक शिक्षिकाको महत्वपूर्ण भूमिका रहेको भन्दै विद्यालय सञ्चालन समितिले शुक्रबार विद्यालय हातामा एक कार्यक्रमको आयोजना गर्दे शिक्षक शिक्षिकालाई सम्मान गरेको छ ।

सो अवसरमा शिवसताक्षी नगरका शिक्षा अधिकारी सुरेन्द्र दाहालले मेचीले अन्तर्राष्ट्रिय स्तरको अवार्ड पाउँदा नगरकै सामुदायिक तथा संस्थागत विद्यालयको शिर उच्चो भएको बताए । विद्यालय सञ्चालन समितिका अध्यक्ष बालकृष्ण चेम्जोङ्गको अध्यक्षतामा भएको कार्यक्रममा आइएसए कोअर्डिनेटर रिसभशिह चहर, विद्यार्थी रक्षा देउजाले अवार्ड पाउनु पूर्वको अभ्यास र पाएपछिे जीवनको पहिलो खुसी भएको अनुभव सुनाए ।

सो कार्यक्रममा ध्रुवतारा अंग्रेजी माविका शिक्षक डम्वर खड्कालगायतले विद्यालय परिवारलाई बधाई ज्ञापन गरेका थिए । कार्यक्रमको स्वागत सूर्य अधिकारी र सञ्चालन पदम कुँवरले गरेका थिए ।