झापा। पाँचौ संस्करणको साफ यू-१५ च्याम्पियनसिपको उपाधिका लागि आज (शनिबार) नेपाल र भारतबीच प्रतिस्पर्धा हुदैछ । कोलकत्तास्थित कल्याणीमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल फाइनल खेलमा जीत निकाल्दै च्याम्पियन बन्ने होडमा छ । भारत भने यसअघि पनि च्याम्पियन बनिसकेको टोली हो ।

नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । पाँच राष्ट्र सम्मिलित प्रतियोगिताको दोस्रो स्थानमा रहदै नेपाल फाईनल पुगेको हो । अघिल्ला दुई संस्करणमा उपाधि नजिक पुगेको नेपाल फाइनलमा भारतसँग पराजित हुँदै असफल बन्दै आएको थियो । नेपाली टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले भारतीय टिमलाई रोक्दै इतिहास रच्न रणनीतिका साथ मैदान उत्रने बताउँछन् ।

‘भारतीय टिम निकै नै बलियो छ । उसका विङ्गर धेरै बलिया छन्’, फाइनल अघि श्रेष्ठले भने, ‘हाम्रो पनि खेल सुधार भईरहेको छ । खेलाडी पनि फिट छन् । विपक्षीको खेल अध्ययन गरेका छौं । त्यसै अनुसार खेल्छौं ।’

बलियो भारतलाई उसैको मैदानमा रोक्न नेपाललाई कठिन हुनेछ । भारत प्रतियोगितामा शतप्रतिशत जित निकाल्ने एक्लो टिम हो । पहिलो खेलमा भारतले नेपाललाई हराएको थियो । नेपाल पहिलो खेलमा भारतसँग व्यहोरेको हारको बदला समेत लिन चाहन्छ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाललाई भारतले ५-० गोल अन्तरले पराजित गरेको थियो । त्यसपछि भने नेपालले लगातार जित निकाल्दै फाईनल पुगेको हो । नेपालले दोस्रो खेलमा श्रीलंकालाई २-०, तेस्रो खेलमा बंगलादेशलाई ४-१ र अन्तिम खेलमा भुटानलाई ६-० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

यता, भारत भने उपाधिमा ह्याट्रिक गर्ने दाउमा छ । भारतले सन् २०१३ र २०१७ मा उपाधि जित्दा दुवै पटक नेपाललाई फाइनलमा हराएको थियो ।

भारतीय प्रशिक्षक विविआनो फर्नान्डेजले आफ्नो खेलाडी निकै मिहेनत गरिरहेको र फाइनलमा पनि अघिल्ला प्रदर्शनलाई कायम राख्नेमा विश्वस्त रहेको बताएका छन् ।

‘खेलाडीले राम्रो गरिरहेका छन् । फाइनल खेलमा पनि सोहि प्रदर्शन दोहर्याउनेमा विश्वस्त छु’, नेपालसँगको खेलअघि फर्नान्डेजले भने । पहिलो खेलमै नेपाललाई सजिलै पराजित गरेको भारतले दोस्रो खेलमा भुटान, तेस्रो खेलमा श्रीलंका र अन्तिम खेलमा साविकको विजेता बंगलादेशलाई पराजित गरेको थियो ।

फाइनल प्रवेश गर्दासम्म शानदार लयमा देखिएको भारत उपाधिको बलियो प्रत्याशि हो । तर फाइनल खेलको पूर्वसन्ध्यामा भारतीय प्रशिक्षक बिबियानो फर्नान्डेस नेपाललाई फाइनलमा हलुका रुपमा लिन चाहन्नन् । फनान्डेसका अनुसार नेपालले भारतसँग उद्घाटन खेलमा हार बेहोरेपश्चात आश्चर्य रुपमा सुधारिएको प्रदर्शन गरिरहेको बताउँछन् ।

उद्घाटन खेलमा नेपालमाथि ५-० को जित निकाले तापनि भारतीय प्रशिक्षक फर्नान्डेसले फाइनल भिडन्त भने उद्घाटनमा भन्दा निकै फरक हुने बताए । उनी भन्छन्, ‘फाइनल एकदम फरक हुनेछ । हामी कहिल्यै फर्केर अतितलाई हेर्दैनौं । नेपालले प्रत्येक खेलहरुमा आश्चर्यजनक रुपमा सुधारिएको प्रदर्शन गर्दै आएको छ ।’

‘हामीले उनीहरुको खेल हेरेका छौं र उनीहरु हाम्रा लागि निकै खतरनाक साबित हुन सक्छन् । नेपालले पछिल्ला दुई खेलहरुमा निकै शानदार खेल खेलेको छ । त्यसैले पनि हामीले नेपालविरुद्ध उद्घाटन खेलमा हात पारेको जितलाई आधार मानेर उनीहरुलाई हलुका रुपमा लिन तयार छैनौं’, उनी भन्छन् ।