रमेश समदर्शी,

झापा । त्रिभुवन आर्मी क्लबका रमेश कार्की दोस्रो मिस्टर ग्यालेक्सी बडिविल्डिङ च्याम्पियन बन्दा ग्यालेक्सी फिटनेस बिर्तामोडका सुमन लिम्बू फस्ट रनरअप भएका छन् ।

मिस्टर ग्यालेक्सीको उपाधि विजेता कार्कीले नगद १ लाख पुरस्कार पाउँदा फस्ट रनरअप सुमनले नगद ५० हजार पाए । ग्यालेक्सी फिटनेस बिर्तामोडले शनिबार राति अग्रसेन भवनमा आयोजना गरेको फाइनल राउण्डमा कार्की ७० केजीभन्दा माथि र लिम्बू ७० केजी तौल समूहबाट विजेता भएर ओभर अल राउण्डमा प्रवेश गरेका थिए ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, आयोजकका अध्यक्ष आशिष वन, बिर्तामोड नगरपालिका ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, शिवसताक्षी नगरस्तरी खेलकुद विकास समितिका अध्यक्ष फुर्वा तामाङ, ग्यालेक्सीका सल्लाहकार दिपेन्द्र पोखरेललगायत सामाजिक अगुवा, युवा नेतृत्वले पुरस्कार प्रदान गरेका थिए ।

त्यस्तै, च्याम्पियन बनेका कार्कीले अशोक इक्वेपमेन्ट काठमाडौँको तर्फबाट एक लाख मूल्यबराबरको रनिङ मेसिन उपहारस्वरुप प्राप्त गरे । डाइट नेपालको तर्फबाट अढाइ केजीको प्रोटिन पनि उनले उपहारस्वरुप प्राप्त गरे ।

प्रतियोगितामा बेसिक जिम उर्लाबारीका संजीव मगर सेकेण्ड रनरअप घोषितहुँदै नगद ४० हजार पाउन सफल भए । उनलाई पनि विभिन्न प्रायोजकका तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । उनी ६५ केजी तौल समूहको विजेता खेलाडी थिए ।

थर्ड रनरअपमा ग्यालेक्सी फिटनेसका हर्कबहादुर राई घोषित भए । ६० केजी तौल समूहबाट विजेता बनेर ओभर अल राउण्डमा भिडेका उनले पुरस्कारस्वरुप नगद ३० हजार पाए । त्यस्तै, ५५ केजी तौल समूहका विजेता भएर उपाधि भिडन्तमा पुगेका ग्यालेक्सी फिटनेसकै सुमन लिम्बू फोर्थ रनरअप हुँदै अन्तिमको पुरस्कार नगद २० हजार पाउन सफल भए ।

मस्ट मस्कुलरमा हर्क
दोस्रो मिस्टर ग्यालेक्सी बडिविल्डिङ च्याम्पियनसीपमा सहभागी ३७ जना खेलाडीमध्ये झापाका हर्कबहादुर राई मस्ट मस्कुलरको विधागत पुरस्कारबाट पुरस्कृत भए । ग्यालेक्सी फिटनेस बिर्तामोडबाट ६० केजी तौल समूह विजेता बनेका उनी ओभर अल राउण्डमा फोर्थ रनरअप बनेका थिए । मस्ट मस्कुलरको उपाधिसँगै उनले नगद १० हजार पाए ।

बेस्ट पोजरमा दिपक
न्यू सेप जिम एण्ड फिटनेस इटहरीका दिपक सरदार प्रतियोगितामा सहभागी खेलाडीमध्ये बेस्ट पोजर घोषित भए । ७० केजी तौल समूहका प्रतिस्पर्धी दिपक सरदारले तौल समूहमा प्रगति नगरे पनि विधागत पुरस्कारतर्फ भने नगद १० हजार जित्न सफल भए । तौल समूहमा उनी अन्तिम पाँचमा छनौट भए पनि ओभर अल राउण्डमा उनी चौँथो भएका खेलाडी हुन् ।

तौल समूहलाई पनि पुरस्कार
प्रतियोगितामा आफ्नो तौल समूहमा दोस्रो र तेस्रो हुने खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।
५५ केजी तौल समूहमा दोस्रो हुने बडी ग्यारेज बिर्तामोडका अनिल चौधरीले ५ हजार पाउँदा ग्यालेक्सी फिटनेसका विशाल गिरीले तेस्रो हुँदै ३ हजार पाउन सफल भए ।

त्यस्तै, ६० केजी तौल समूहमा दोस्रो भएका गो फिट फिटनेस बिर्तामोडका चन्दन राजवंशीले ५ हजार र तेस्रो भएका ड्याजल म्यूजिकलका प्रवित राजवंशीले नगद ३ हजार पाए । ६५ केजी तौल समूहमा दोस्रो भएका बडी ग्यारेजका चन्द्र लक्समले नगद ५ हजार पाउँदा तेस्रो भएका क्लासिक फिटनेस काँकरभिट्टाका रवि राजवंशीले ३ हजार पाए ।

यसैगरी, ७० केजी तौल समूहमा दोस्रो भएका बडी ग्यारेजका युवक खानले नगद ५ हजार पाउँदा फिटनेस क्लब पथरीका लोकबहादुर तामाङ तेस्रो हुँदै नगद ३ हजार पाउन सफल भए ।

७० केजीभन्दा माथि तौल समूहमा दोस्रो भएका बडी ग्यारेजका चन्द्रशेखर ताजपुरियाले नगद ५ हजार पाउँदा व्यायामशाला इटहरीका रितिक घिमिरेले नगद ३ हजार र प्रमाणपत्र पाए ।

खेलाडीलाई सम्मान र पुरस्कार
शारीरिक सुगठन खेलमा आवद्ध हुने र प्रतियोगितामा सहभागी जनाइरहने पुराना खेलाडीमध्ये अर्जुनधारा झापाका चन्द्र राना मगर ‘लाफा’लाई आयोजकले नगदसहित सम्मान गरेको छ ।

२०५२ सालबाट शारीरिक सुगठनमा प्रवेश गरेर यसको उन्नति र प्रगतिका लागि निरन्तर लागिपरेका लाफा ग्यालेक्सी फिटनेसका सञ्चालक पनि हुन् । उनले फिटनेस सञ्चालन गरेर प्रतिभावान खेलाडी उत्पादन गर्नमा सहयोग पुर्याएको भन्दै आयोजकले नगद ५ हजारसहित सम्मान गरेको हो ।

२०५४ सालमा बिर्तामोडमा आयोजित प्रथम मिस्टर मेचीमा दोस्रो भएका उनी २०५५ सालमा आयोजित मि. हर्कुलसमा तेस्रो र २०५५ मै आयोजित मिस्टर पूर्वाञ्चल र राष्ट्रिय प्रतियोगितामा सहभागी भएर सधै शारीरिक सुगठनको विकासमा लागिरहेका व्यक्तित्व हुन् ।

त्यस्तै, क्रिकेट खेलमा लागेर समाजमा योगदान पुर्याएका विनित बाँस्तोला र भलिबल र टेनिस खेलमा आवद्ध भएर खेलको विकासमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै आयोजकले विमान खड्कालाई पनि सोही समारोहमा सम्मान गर्यो । उनीहरुलाई पनि जनही ५-५ हजार नगद प्रदान गरिएको थियो ।

रजनीको डेमो शो
१२औँ साउथ एसियनमा रजत पदक विजेता बनेकी काठमाडौँबाट आएकी रजनी श्रेष्ठले कार्यक्रममा विशेष प्रस्तुतिका रुपमा डेमोस्ट्रेशन शो प्रदान गरिन् ।

मिस्टर काठमाडौँ र मिस्टर हिमालयकी गोल्ड मेडलिस्ट रजनीले शारीरिक सुगठनको क्षेत्रमा महिलाहरुलाई उत्प्रेरणा प्रदान गर्नका लागि प्रस्तुति दिएकी हुन् । उनी झापाली चेली पनि हुन् ।

बली विट्स र जुम्बाको आकर्षण
कार्यक्रमको बीच बीचमा प्रस्तुत भएको जुम्बा डान्सर बली विट्स प्रतियोगिताको अर्को आकर्षणको रुपमा रह्यो ।

राइजिङ फिटनेस स्टुडियो बिर्तामोडको तर्फबाट प्रस्तुत जुम्बा डान्स र बली विट्सको नेतृत्व सञ्चालक निशा पोमु लिम्बूले गरेकी थिइन् । जुम्बा डान्स यसअघि नै झापा भित्रिएको भए पनि बली विट्स पहिलोपटक भित्रिएको लिम्बूको दाबी छ ।