बिर्तामोड । झापाको बिर्तामोडमा आयोजना हुने हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । बिर्तामोडको जायोन स्पोर्टस् क्लबको आयोजनामा आगामी असोज ११ गतेबाट १८ गतेसम्म डोमालाल राजवंशी रंङ्गशालामा प्रतियोगिता सञ्चालन हुँदैछ ।

विजया दशमीको उपलक्ष्यमा झापालाई खेलकुदमय बनाउन आयोजना गरिएको गोल्डकपको ६० प्रतिशत काम सम्पन्न गरिएको आयोजक जायोन स्पोर्टस् क्लबका अध्यक्ष भक्त खवासले जानकारी दिए । प्रतियोगिताको तयारी तीव्र पारिएको गोल्डकप आयोजक समितिका प्रवक्ता अभिनाश राईले बताए ।

‘प्रतियोगितामा सहभागी हुने ३ टिममात्र पक्का हुन बाँकी छ’, उनले भने, ‘मनाङ मस्र्याङ्दी, भुटानको पारो एफसी र नेपालको एक क्लबको कन्फर्म हुन बाँकी छ ।’ उनका अनुसार नेपालका पाँच वटा ए डिभिजन क्लबसहित ८ टिमले गोल्डकपमा सहभागिता जनाउने प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, रुपन्देही ११, भारतको मोल्होई युथ क्लब र आयोजक टिमले सहभागिता जनाउने पक्का भइसकेको छ ।

हाल प्रतियोगिता हुने डोमालाल रंगशालाको फुटबल मैदानमा घाँसको काटछाँट र प्यारापिट निर्माणको काम धमाधम भइरहेको छ । ‘आन्तरिक रुपमा खेल मैदान मर्मत सम्भार, बाँसको प्यारापिट निर्माण र प्रचारप्रसार लगायतको काम तीव्र पारेका छौँ’, आर्थिक संयोजक दिपेन्द्र आछामीले भने, ‘आर्थिक संकलनका लागि प्रायोजकसँगको सम्झौतालाई अन्तिम चरणमा पु¥याएका छौँ ।’

प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ र उपविजेताले छ लाख २५ हजारसहित ट्रफी प्राप्त गर्नेछ । त्यस्तै, विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदयीमान खेलाडी, सर्वाधिक गोलकर्तालाई पनि जनही नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

गोल्डकप सम्पन्न गर्न कम्तिमा ८० लाख खर्च हुने अनुमान आयोजकको छ । गोल्डकपका लागि राष्ट्रिय महिला टिमका प्रशिक्षक हरि खड्कालाई आयोजकले यसअघि नै ब्राण्ड एम्बासेडर नियुक्त गरिसकेको छ ।