झापा । विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपाले आज मध्यरातमा कुवेतसंग प्रतिस्पर्धा गर्दैछ । नेपाली फुटबलका समर्थक खेलको सुखद नतिजाको व्यग्र प्रतिक्षामा छन् । कुवेतको घरेलु मैदानमा छनोट प्रतियोगिताको पहिलो खेल खेल्न लागेको नेपाली टिम सुखद नतिजा निकाल्ने लक्ष्यमा रहेको छ ।

फिफा वरियतामा आफूभन्दा माथि रहेको कुवेतविरुद्व जित हासिल गर्न नेपाली टिमलाई सहज भने छैन । कारण अघि खेलिएका कुनै पनि खेलमा नेपालले कुवेतविरुद्व जित निकाल्न सकेको छैन । तर, पछिल्लो कुवेतविरुद्ध नेपालको खेललाई हेर्ने हो भने यो खेल नेपालका लागि अवसर बन्नेमा शंका पनि छैन ।

सन् १९८० मा एसिया कपको च्याम्पियन कुवेतले स्पेनमा सन् १९८२ को विश्वकप समेत खेलेको थियो । समृद्व ईतिहास बोकेको कुवेतको फुटबल पछिल्लो समय ओरालो लाग्दो छ । कुवेत यसै बर्ष भएको एसिया कपमा छनोट हुन असफल भएको थियो । कुवेत सन् १९८२ पछि विश्वकपमा समेत पुग्न सकेको छैन ।

तर, कुवेत पछिल्लो समय पुरानै लयमा फर्कन संघर्षरत छ । अन्तराष्ट्रिय फुटबलमा ठुलो उतार चढाब बोकेको कुवेतको फुटबल नेपाल भन्दा भने अघि छ । कुवेतले नेपालसंग अहिलेसम्म कुनै खेल हारेको छैन । कुवेतविरुद्व फराकिलो हार ब्यहोर्दै आएको नेपाल समय भने प्रतिस्पर्धात्मक देखिएको छ ।

गत चैतमा नेपाल र कुवेतले दुई मैत्रीपूर्ण फुटबल खेले । पहिलो खेल गोलरहित बराबरीमा सकियो । दोस्रो खेलमा नेपाल १-० ले पराजित बन्यो, त्यो समेत पेनाल्टी सुटआउटमा । सोही नतिजालाई हेरेर छनोट खेलमा कुवेतलाई स्तब्ध पार्ने दाउ नेपालले लिएर बसेको छ ।

तर विगत हेर्दा नेपालमाथि कुवेत हाबी हुदै आएको ईतिहास छ । दुवै टिम ६ पटक आमने सामने भएका छन् । कुवेत ५ मा जित निकाल्न सफल भएको छ । एक खेल बराबरीमा सकिएको छ ।

नेपालले सन् १८८२ नोभेम्बरमा भएको एसियन गेम्समा पहिलो पटक कुवेतसँग खेलेको थियो । सो खेलमा नेपाल कुवेतसँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।

दोस्रो भेट सन् १९८६ को एसियन गेम्समा भएको थियो । नेपाल ५-० गोल अन्तरले पराजित भयो । सन् १९९४ मा भएको एसियन गेम्समा नेपालले कुवेतसँग सबैभन्दा खराब नतिजा निकाल्यो । नेपाल ८-० गोल अन्तरले पराजित भएको थियो । सन् २००० मा भएको एसियन गेममा कुवेतसँग नेपाल ५-० गोल अन्तरले पराजित हुन पुग्यो ।

लगातार चार हारको श्रृङ्खला सन् २०१९ मा रोकियो । जोहान कालिनको नेतृत्वमा नेपालले चैत पहिलो साता कुवेतलाई बराबरीमा रोक्न सफल भएको थियो । योनै कुवेतविरुद्ध नेपालको राम्रो नतिजा थियो ।

कालिनले पहिलो विदेश यात्रामा ५ खेलाडीलाई राष्ट्रिय टिमबाट डेब्यु गराएको थिए । पहिलो खेलमा बराबरी खेलेको नेपाल दोस्रो खेलमा १-० ले पराजित भयो । कुवेतले पेनाल्टीमा गोल गर्दै नेपाललाई निराश बनाएको थियो ।