मोरङ । यहि आउँदो ४ असोजदेखि शुरु हुन गईरहेको लक्ष्मीमार्ग अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

लक्ष्मीमार्ग स्थित लक्ष्मी माविको खेलमैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका गरी कुल ८ टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक डाँगीहाट युथ क्लब, मोरङ र धरान फुटबल क्लब, सुनसरी भिड्ने छन् ।

अन्य स्पर्धी फुटबल क्लबमा झापा ११ एफसीले एपीएफ काठमाडौँ, मदन भण्डारी स्पोर्टस् क्लबले गोर्खा ब्वाइज बुटबल र नेपाल पुलिस क्लबले भारतको रोयल क्लब वेस्ट बंगालसँग प्रतिस्पर्धा गर्नेछ ।

डाँगीहाट युथ क्लब, बेलबारी मोरङको आयोजनामा हुन गईरहेको प्रतियोगिताको फाइनल खेल भने असोज १० गतेका दिन हुनेछ । बुद्ध एयरको मुख्य प्रायोजन तथा मोरङ जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।