पाँचथर । फिदिम नगरपालिका ७ को बराजु खेलमैदानमा जारी रानीटार गोल्डकप प्रतियोगितामा शुक्रबार झापाका दुई टिम विजयी भएका छन् । बिर्तामोडको रेड स्टार फुटबल क्लब र सैनिकको सैनिक युथ क्लब विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको हो ।

पहिलो खेलमा २-० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै बिर्तामोडको रेड स्टारले बाजी मारेको हो । इलाम एफसीले २-० गोलको अग्रता लिए पनि अग्रता जोगाउन नसक्दा घर फर्किनु परेको छ । खेलको १४औँ मिनेटमा पदम गुरुङले इलामका लागि पहिलो गोल गरेका थिए । त्यस्तै, नरेन गुरुङले खेलको ४४औँ मिनेटमा अर्को गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए ।

तर, खेलको ५०औँ मिनेटमा रेड स्टारका सनम राईले गोल गरेर खेलमा फर्किने प्रयास गरेका थिए । ५३औँ मिनेटमै रेड स्टारका सुजन बयलकोटीले गोल गरेर खेललाई बराबरीमा ल्याए । खेलको म्यान अफ दी म्याच घोषित सुमनले नै ५९औँ मिनेट व्यक्तिगत दोस्रो गोल गरेर टिमलाई सेमिफाइनल यात्रामा पुराए ।

शुक्रबार नै भएको दोस्रो खेलमा सैनिक युथ क्लबले नमो बुद्ध एफसीलाई २-१ गोलले पराजित गरेर सेमिफाइनल पुगको छ । खेलको २९औँ मिनेटमा सैनिकका लागि दुर्लभ तिवारीले गोल गरेर अग्रता दिलाएका थिए । त्यस्तै, ४५औँ मिनेटमा अभिषेक गुरुङले गोल गरेर अग्रता दोब्बर बनाएका हुन् ।

सैनिकका खेलाडीले आत्मघाती गोल गर्दा खेलको ६२औँ मिनेटमा नमो बुद्धका लागि सान्त्वना गोल बनेको थियो । खेल संयोजक मिलन गुरुङका अनुसार भोलि रेड स्टारले आयोजक रानीटार ११ सँग पहिलो सेमिफाइनल खेल खेल्नेछ भने झापाकै सैनिक युथ क्लबले यङ ब्वाइज नेपालटारसँग अन्तिम सेमिफाइनल खेल खेल्नेछ ।

भदौ ३० गते हुने फाइनल खेलको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार पाउनेछ ।