झापा । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले सेप्टेम्बर महिनाको फिफा वरीयतामा ५ स्थान सुधार गरेको छ । अघिल्लो महिना १ सय ६६ औं स्थानमा रहेको नेपाल १६१औं स्थानमा पुगेको हो ।

नेपालले फिफा विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा कुवेतसँग ७-० को फराकिलो अन्तरको हार बेहोरेको थियो । दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइलाई २-० ले पराजित गरेको थियो । कुवेत वरीयतामा १५६औं स्थानमा यथावत रहेको छ । दोस्रो खेलमा कुवेत अष्ट्रेलियासँग ३-० ले पराजित भएको थियो ।

ताइपेइ भने वरीयतामा ४ स्थान खस्कँदै १२९औं स्थानमा पुगेको छ । ताइपेइ त्यसअघि जोर्डनसँग २-१ ले पराजित भएको थियो । नेपालको समूहमा रहेको जोर्डन एक स्थान उक्लँदै ९८ स्थानमा पुगेको छ । अष्ट्रेलिया पनि दुई स्थान माथि चढ्दै ४४ औं स्थानमा पुगेको छ । नेपालले अर्को महिना हुने विश्वकप छनोटको खेलमा अष्ट्रेलिया र जोर्डनको भ्रमण गर्दैछ ।

दक्षिण एसियाको शीर्षस्थानमा रहेको भारत एक स्थान तल झर्दै १ सय ४ औं स्थानमा छ । दोस्रो स्थानको माल्दिभ्स १ स्थान झर्दै १५३ औं स्थानमा छ । नेपालपछि भुटान १८५औं स्थानमा छ । ५ स्थान खसेको बंगलादेश १ सय ८७ औं स्थानमा छ । २०२औं स्थानमा श्रीलंका र २०३औं स्थानमा पाकिस्तान रहेका छन् ।

वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ । फ्रान्सले ब्राजिललाई उछिन्दै दोस्रो स्थानमा पुगेको छ । इंग्ल्यान्ड चौथो स्थानमा यथावत छ । पोर्चुगल उरुग्वेलाई उछिन्दै पाँचौ स्थानमा पुगेको छ । स्पेन क्रोएसिया र कोलोम्बियालाई उछिन्दै सातौंमा छ ।

दशौं स्थानमा अर्जेन्टिना यथावत छ । एसियालि वरियतामा चौथो रहेको अष्ट्रेलियाभन्दा अगाडी इरान २३औं, जापान ३१औं र दक्षिण कोरिया ३७औं स्थानमा छन् ।