अर्जुनधारा । संविधान तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा अर्जुनधारा नगरपालिकाको आयोजना र नगर युवा, खेलकुद र सांस्कृतिक समितिको संयोजनमा बिहीबार भएको मिनी म्याराथनमा पुरुषतर्फ विवस श्रेष्ठ र महिलातर्फ सोनिया सेन्चुरी प्रथम भए ।

अर्जुनधारा-११ स्थित देउनिया खेलमैदानबाट सुरु भई अर्जुनधारा-८ स्थित शनिश्चरे बजार चोकमा सम्पन्न भएको उक्त म्याराथनमा पुरुषतर्फ द्वितीय आयुष बुढाथोकी, तृतीय विनोद हुमागाईं, चौथो हरि मगर र पाँचौं बबी चौधरी तथा महिलातर्फ द्वितीय रीता गजमेर, तृतीय रीतू मुर्मु, चौथो यशोधा गौतम र पाँचौं शिला दनुवार भएका छन् ।

नगरपालिकाका निमित्त प्रमुख रघुनाथ खनालको अध्यक्षता र प्रदेश नं. १ का सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनीहरुलाई नगद र प्रमाण पत्रबाट पुरस्कृत गरिएको थियो ।

कार्यपालिका सदस्य रमेश त्रिखत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर सभा सदस्य होमनाथ दुलालले गरेका थिए ।