बिर्तामोड । साविकको मेची अञ्चलका खेलाडी र खेलकर्मीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरिँदै आएको झापा स्पोर्टस अवार्ड २०७५ को मनोनयनमा परेका खेलाडी र प्रशिक्षकको नाम आज बिर्तामोडमा सार्वजनिक गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्ञ (एनएसजेएफ) झापा समन्वय शाखाको आयोजना हुँदै आएको अवार्डको तेश्रो संस्करणमा यसपटक झापाबाट सात र इलामका पाँच जना मनोनयनमा परेका छन् । जसमा इलामबाट चार जना खेलाडी र एक जना प्रशिक्षक परेका छन् । मनोनयनमा इलामबाट पुरुष बर्ष खेलाडीतर्फ फुटबलका नवयुग श्रेष्ठ, महिला बर्ष खेलाडीतर्फ फुटबलकी एन्जिला तुम्वापो सुब्बा र भलिबलकी विनिता बुढाथोकी र युवा बर्ष खेलाडीमा फुटबलमा छिरिङ गुरुङ परेका हुन् ।

प्रशिक्षकतर्फ कराते विधामा योगेश चाम्लिङ राई परेका छन् । नवयुग गत संस्करणको पुरुष बर्ष खेलाडी समेत हुन् । यता एन्जिला गत संस्करणमा महिला बर्ष खेलाडीको रुपमा मनोनयमा परेकी थिइन् । विनिता, छिरिङ र योगेश पहिलो पटक अवार्डको मनोयनमा परेका हुन् ।

नवयुगले अवार्डको लागि झापाका उमेश राई (शारीरिक सुगठन), राम दाहाल (शारीरिक सुगठन) संग प्रतिस्पर्धा गर्नेछन् । एन्जिलाले इलामकै भलिबल खेलाडी विनिता र झापाकी कराते खेलाडी एस्तर राईसंग प्रतिस्पर्धा गर्नेछिन् । एस्तर तीन वटै संस्करणमा मनोयनमा पर्ने एक मात्र खेलाडी हुन् ।

युवा बर्ष खेलाडीतर्फ छिरिङले झापाकी क्रिकेटर अप्सरी बेगम र ब्याडमिन्टनकी अमिता गिरीसंग अवार्डको लागि प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षक विधामा योगेशले महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्का र बक्सिङका डम्बर लिम्बुसंग प्रतिस्पर्धा गर्नेछन् ।

वर्ष खेलाडी (पुरुष)लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला)लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा)लाई नगद २५ हजार र वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए । अध्यक्ष खरेलका अनुसार पिपुल्स च्वाइज र लाइफ टाइम्स अचिभमेन्ट अवार्डका विजेता कार्यक्रम हुने दिन सिधै घोषणा गरिनेछ । उनीहरुले क्रमशः नगद २५ हजार र ३५ हजार रुपैयाँ पाउनेछन् ।

‘झापा स्पोर्टस् अवार्ड’ को तेस्रो संस्करण यही असोज १३ गते सोमबारका दिन बिर्तामोडको आदर्श ब्यांक्वेटमा हुनेछ । अवार्डलाई स्थापना कालदेखि नै एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना भाइ पूर्वफुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा एक लाख रुपैयाँ प्रदान गर्दै आएका छन् ।

त्यस्तै, सहारा नेपाल साकोसले नगद दुई लाख रुपैयाँ प्रदान गर्छ भने अग्रज समाजसेवी तथा झापा ११ का अध्यक्ष जलकुमार गुरुङले दोस्रो स्पोर्टस् अवार्डमा आमा स्वर्गीय राजकुमारी गुरुङ, बुवा स्वर्गीय बलबहादुर गुरुङ र भाउजू स्वर्गीय तितामाया गुरुङको स्मृतिमा एक थान मोटरसाइकल र एक थान स्कुटर प्रदान गरेका थिए ।

त्यस्तै, अन्य सामाजिक संघसस्था र व्यापारिक प्रतिष्ठानबाट समेत अमूल्य सहयोग भएको थियो । अवार्डमा २०७५ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त साविक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका खेलाडी र प्रशिक्षकलाई सहभागी गराइन्छ । पत्रकार सम्मेलनमा प्रतिभा छनौट समितिका संयोजक बुद्ध तामाङ र मञ्चका निवर्तमान अध्यक्ष रमेश समदर्शी राईले अवार्डबारे जानकारी गराएका थिए ।