झापा । फुटबल क्षेत्रमा पाँच दशकदेखि क्रियाशील झापाका फुटबल प्रशिक्षकलाई शिवसताक्षी नगरपालिकाले आइतबार सम्मान गरेको छ । झापा फुटबल संघका अध्यक्षसमेत रहेका भगिरथ आले ‘मामा’ शिवसताक्षी नगर खेलकुद विकास समितिबाट सम्मानित भएका हुन् ।

खेलाडी सम्मान तथा उपमेयर कप महिला फुटबलको आयव्यय सार्वजनिक तथा चाडपर्व विशेष शुभकामना आदान प्रदान कार्यक्रमको अवसर पारेर मामालगायत अन्य खेलाडी सम्मान गरिएको हो ।

प्रशिक्षक मामालाई शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल र शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा तामाङ्गले नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । शिवसताक्षी नगरले बर्सेनि आयोजना गर्ने मेयर कप र उपमेयर कप प्रतियोगिता लगायत झापालाई फुटबल खेलको माध्यमबाट विश्वसामु परिचित गराउन सफल ‘मामा’ लाई सम्मान गरिएको शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष तामाङ्गले जानकारी दिए ।

नगर खेलकुद विकास समितिले त्रिभुवन आर्मीका पूर्व खेलाडी शिवसताक्षी ७ का सन्तोष नेपालीलाई पनि नगद ५ हजारसहित सम्मान गरेको छ ।

यस्तै गएको साउन १५ देखि २२ गतेसम्म सञ्चालित १ नम्बर प्रदेशस्तरीय प्रथम उपमेयर महिला कप फुटबलको विजेता शिवसताक्षी नगरपालिकाको महिला फुटबल क्लबका खेलाडीलाई पनि समितिले पुरस्कृत गरेको छ । १८ जना महिला खेलाडीलाई जनही ५ हजारका दरले नगर प्रमुख शेर्माले पुरस्कृत गरेका हुन् ।

नगर खेलकुद विकास समितिका अध्यक्ष तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख शेर्माले खेलाडीले आफ्नो नगरको नाम उच्च राख्न गरेको योगदानलाई नगरले कहिल्यै नबिर्सने बताए । ‘हामी तपाईहरुको साथमा छौँ, तपाईहरुले खेलको माध्यमबाट नगरलाई अन्य स्थानीय तहभन्दा फरक ढंगले प्रस्तुत हुनुहोस्’, उनले भने ।

कार्यक्रममा नगर शिक्षा अधिकारी सुरेन्द्र दाहाल, सम्मानित भगिरथ आले ‘मामा’ पूर्व खेलाडी नेपाली लगायतले मन्तव्य राखेका थिए । आयोजक समितिका सदस्य सन्तोष पौडेलले सञ्चालन गरेको कार्यक्रमको स्वागत दिपक भेटवालले गरेका थिए ।

यसैबीच, प्रथम उपमेयर कप महिला फुटबल नकआउटको आयव्यय पनि सार्वजनिक गरिएको छ । सो प्रतियोगितामा ३ लाख ९० हजार ३० रुपैयाँ बराबरको आम्दानी खर्च सार्वजनिक गरिएको हो ।