बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा असोज ११ गतेदेखि हुने हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा झापा ११ एफसीले खेल्ने पक्का भएको छ ।

आयोजक जायन स्पोर्टस् क्लबले आज सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै झापा ११ ले खेल्ने निश्चित भएको जनाएको हो । एक साता अघिसम्म गोल्डकपमा झापा ११ ले खेल्ने वा नखेल्ने भन्दै अन्योल सिर्जना भएको आयोजकले जनाएको थियो ।

आयोजकका प्रवक्ता अविनाश राईले झापा ११ ले दोस्रो क्वाटरफाइन खेलमा नेपाल पुलिस क्लबको सामना गर्ने खेल तालिका नै सार्वजनिक गरिसकिएको बताए । उद्घाटन खेल भने भारतको सिक्किम आक्रामक र संकटा क्लबबीच हुने आयोजकले जनाएको छ । झापा ११ ले खेल्ने निश्चित भएसँगै आयोजकका तर्फबाट कुनै टिम नरहने पनि स्पष्ट पारेको छ ।

आयोजक क्लबका सचिव महेन्द्र पाण्डेका अनुसार गोल्डकपमा २ भारतीय टिमसँगै नेपालका ४ वटा ए डिभिजन क्लब र मोफसलका २ क्लबबीच भिडन्त हुनेछ । उनका अनुसार विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, संकटा, थ्री स्टार क्लब छन् भने झापा ११ र गोर्खा ब्वाइज रुपन्देही पनि गोल्डकपमा सहभागी छन् । त्यस्तै, सिक्किम आक्रामक र असामको मोलवे फुटबल क्लब विदेशी टिमका रुपमा रहेका छन् ।

गोल्डकपको तयारी अन्तिम भएको जनाइएको छ । गोल्डकप विजेता टोलीले १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार पाउनेछ । प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार नगद पाउँदा फाइनल खेलको म्यान अफ दी म्याच खेलाडीले २५ हजार पाउने आयोजकका प्रवक्ता राईले बताए ।

उनका अनुसार विधागततर्फ ७ वटा पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही १५/१५ हजार पाउने उनले जानकारी दिए । म्यान अफ दी टुर्नामेन्टलाई पनि पुरस्कारको व्यवस्था गरिए पनि पुरस्कारबारे केही खुलाइएको छैन ।

यसैबीच, गोल्डकपले मुख्य प्रायोजकको रुपमा बिर्तामोडको अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको साथ पाएको छ । क्लबसँगको प्रायोजनबारे पनि आयोजकले केही खुलाएको छैन । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ लाग्ने आयोजकले अनुमान गरेको छ ।

क्लबका सदस्य गौरीमान राईले सञ्चालन गरेको कार्यक्रममा सल्लाहकार हिमाल किराती र अन्नपूर्ण साकोसका प्रतिनिधि सन्तोष दाहालले गोल्डकपका बारेमा बोलेका थिए ।