काठमाडौं । सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज (बुधबार) त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । नेपाली टोलीका टिम म्यानेजर रमण सिवाकोटीले नेपाली टिम राति १०:१५ बजे सिल्क एयरबाट टिम सिंगापुर जाने जानकारी गराए ।

सिंगापुर क्रिकेटको आयोजनामा हुने टी-ट्वान्टी सिरिज शुक्रबारबाट सुरु हुनेछ । सिरिजमा नेपाल, आयोजक सिंगापुर र टेष्ट राष्ट्र जिम्बावेबीच प्रतिस्पर्धा हुनेछ । नेपालले शुक्रबार जिम्वाबेसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । यस्तै शनिबार नेपालले सिंगापुरसँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अर्को साताको मंगलबार दोस्रो खेल खेल्नेछ । यस्तै अर्को साताको बुधबार सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

प्रतियोगिताको लागि नेपालले गत बिहिबार नै १५ सदस्सीय टिमको घोषणा गरिसकेको छ । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले नेपाली टोली छनोट गरेका हुन् ।

नेपालले घोषणा गरेको टिममा दुई नयाँ अनुहार छन् । जसमा ईशान पाण्डे र कुशल मल्ल रहेका छन् । घरायसी कामले ज्ञानेन्द्र मल्ल टिममा नहुदा दिपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिईएको छ ।

यस्तै अनुभवी खेलाडी शरद भेषवाकर र भेट्रान बलर बसन्त रेग्मी टिममा अटाएका छैनन् ।

नेपाली टोली :

पारस खड्का (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप लामिछाने, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, ईशान पाण्डे, सन्दीप जोरा, रोहित कुमार पौडेल