0 Shares

अर्जुनधारा । प्रदेशस्तरीय शहीद टेक–मान स्मृति फुटबल प्रतियोगितामा आयोजक सयपत्री युवा समूह अर्जुनधाराले विजयी सुरुवात गरेको छ । बुधबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजकले इलामको तिनघरे युवा क्लबलाई १-० गोलअन्तरले पराजित गरेको हो ।

खेलको २५औँ मिनेटमा आयोजकले पाएको कर्नर प्रहारमा रविन राई हेडमार्फत गोल गरेका थिए । सरोज कार्कीको प्रहारमा रविनले गरेको गोल नै निर्णायक बनेको थियो । पहिलो हाफमा एक गोलले पछि परेको तिनघरेले दोस्रो हाफमा दबाब सिर्जना गरे पनि खेललाई बराबरी गर्न सकेनन् । तिनघरेका खेलाडीले गरेका धेरै राम्रा प्रहार आयोजकका गोलरक्षक विवेक मगरले बचाएका थिए ।

उनी म्यान अफ दी म्याच घोषितहुँदै नगद ३ हजार पुरस्कार पाए । उनलाई संविधानसभा सदस्य प्रेम गिरीले पुरस्कृत गरे । प्रतियोगिताको उद्घाटन भने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वो ‘मौसम’ले गरेका थिए ।

भोलि बिहीबारको खेल धुलाबारीको रोलिङ क्लब र बिर्तामोडको बिर्तामोड युनाइटेड क्लबबीच खेल हुनेछ । शहीद टेक-मान रंगशाला निर्माण तथा व्यवस्थापन समिति र सयपत्री युवा समूहको संयुक्त आयोजना भएको प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार पाउनेछ ।