अर्जुनधारा । अर्जुनधारा १ स्थित सिस्नेमा जारी प्रदेशस्तरीय शहीद टेक-मान स्मृति फुटबल प्रतियोगितामा बिहीबारको खेलबाट धुलाबारीको रोलिङ फुटबल क्लब क्वाटरफाइनल खेलमा प्रवेश गरेको छ ।

चिरपरिचित प्रतिद्वन्द्वी बिर्तामोड युनाइटेड एफसीलाई ३-१ गोलअन्तरले पराजित गर्दै धुलाबारीले बाजी मारेको हो । पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा दुवै टोलीले गोल गरेका हुन् । खेलको पहिलो गोल धुलाबारीका लागि निशेव लिम्बूले दोस्रो हाफको २ मिनेटमै गरेका थिए ।

एक गोलले अग्रता लिएको धुलाबारीका लागि रञ्जित लिम्बूले थप गोल गर्न सफल भए । पहिलो गोल भएको २ मिनेट नबित्दै उनले गोल गरेका थिए । यसैबीच, धुलाबारीले बिर्तामोडको तर्फबाट आत्मघाती गोलको उपहार पाएको थियो ।

खेलको ५८औँ मिनेटमा भने बिर्तामोडले पाएको पेनाल्टीको अवसरबाट सान्त्वना गोल गर्यो । बिर्तामोडका लागि योगेश गुरुङ, विक्की चौधरी, सुमिन मैनाली, विकास थुलुङजस्ता अनुभवी खेलाडी भए पनि गोल गर्न नसक्दा बिर्तामोड स्तब्ध बन्न पुग्यो ।

खेलको म्यान अफ दी म्याच धुलाबारीका रञ्जित लिम्बू घोषितहुँदै नगद ३ हजार पुरस्कार पाउन सफल भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ले नगद प्रदान गरेका थिए ।

शहीद टेकमान रंगशाला निर्माण तथा व्यवस्थापन समिति र सयपत्री युवा समूहको संयुक्त आयोजना भएको भोलि (शुक्रबार) खेल चन्द्रगढी फुटबल एकाडेमी र श्रीनाथ गण चारआलीबीच हुनेछ ।

प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार पाउनेछ ।