अर्जुनधारा । अर्जुनधारा १ स्थित सिस्नेमा जारी प्रदेशस्तरीय शहीद टेक-मान स्मृति फुटबल प्रतियोगितामा शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलबाट चन्द्रगढी फुटबल एकाडेमी सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भाग्यमानी बन्दै चन्द्रगढी सेमिफाइनलमा पुगेको हो ।

चारआलीको नयाँ श्रीनाथ गणलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गर्दै चन्द्रगढीले सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । यो जीतसँगै चन्द्रगढी प्रतियोगिताको सेमफिाइनलमा पुग्ने पहिलो टोली पनि बनेको छ ।

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा चन्द्रगढीका लागि मित्र बस्नेत, कर्ण लिम्बू, प्रमोद चौधरी र योगेश लिम्बूको प्रहार गोलमा परिणत भएको थियो भने श्याम मुर्मूको प्रहार विपक्षी गोेलरक्षकले बचाउ गरेका थिए ।

त्यस्तै, नयाँ श्रीनाथ गणका बुद्धराज आङ्देम्बे र डेविड चौधरीको प्रहारमात्र गोलमा परिणत भएको थियो । प्रवेश राईको प्रहार क्रसबारमा लाग्दै बाहिरियो भने किरण बस्नेतको प्रहार चन्द्रगढीका गोलरक्षकले बचाएका थिए ।

खेलको म्यान अफ दी म्याच चन्द्रगढीका प्रमोद चौधरी घोषित भए । उनलाई झापा ११ एफसीका महासचिव केशवराज दाहाल र आयोजक क्लबका अध्यक्ष कृष्ण लोहारले नगद ३ हजार पुरस्कार प्रदान गरेका थिए ।

शहीद टेकमान रंगशाला निर्माण तथा व्यवस्थापन समिति र सयपत्री युवा समूहको संयुक्त आयोजना भएको भोलि (शनिबार)को खेल सशस्त्र प्रहरी बल पकली र सैनिक युथ क्लबबीच हुने प्रचार प्रसार उपसमितिका संयोजक डिबी दर्नालले जानकारी दिए ।

प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार पाउनेछ ।